जनकपुरधामका मेयर साहको पहिलो निर्णय- फोहोर उठाउने जिम्मा वडालाई


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले मंगलबार पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

साहले पहिलो निर्णय फोहोरबारे गरेका छन् । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई विकेन्द्रित गर्दै सबै वडालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

वडालाई स्रोत साधन सम्पन्न बनाएर फोहोर उठाउने जिम्मेवारी दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि बजार क्षेत्रको धेरै ठाउँमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा समेत मेयरले ध्इान नदिएको भन्दै तत्कालिन मेयरको घर अगाडि फोहोर फालेर वडाअध्यक्षहरुले विरोध जनाएका थिए । उनीहरुले सबै स्रोत साधन उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा राखेको बताएका थिए ।

यस्तै, उपमहानगरपालिका कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र पारदर्शी बनाउने निर्णय पनि भएको छ । कर्मचारी अभावले यसअघि विभिन्न शाखामा विषय बिज्ञ नभएपनि खटाउने काम हुँदै आएकोमा त्यसलाई रोक्ने निर्णय भएको उपाध्यायले बताए ।

‘एक शाखाका कर्मचारीलाई अरु शाखामा राख्ने काम भइरहेको थियो त्यसलाई रोक्ने निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ