एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड


काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन् ।

पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

आफूले गठबन्धन कायम राखेरै जान चाहेको स्पष्ट पार्दै उनले यदि कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताए ।

‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेमा अति धेरै अहंकार र दम्भ आयो,’ उनले भने, ‘त्यसकारण म कांग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु । अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त हित नै गर्दैन ।’

‘अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्नेछ। हामीलाई अरू केहीछैन’, अध्यक्ष प्रचण्डले अगाडि भने।

उनले थपे, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’

प्रकाशित : २०७९ जेष्ठ १८, बुधबार १५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ