अमेरिकामा अभ्यस्त हुँदै नेपाली टोली


अमेरिका । पेरिरी भ्यू क्रिकेट कम्प्लेक्सको मैदानमा मंगलबार साँझ झन्डै तीन घण्टाको अभ्याससत्रपछि प्रशिक्षक पुबुदु दासानायके पसिनाले निथ्रुक्क भिजेका थिए । सापेक्षिक आद्रता ७५ प्रतिशत र उच्च तापक्रम ३६ डिग्री सेल्सियसले दासानायकेमात्र होइन, नेपाली खेलाडीलाई पनि गाह्रो बनाएको थियो । अझ एकोहोरो हावाले खेलाडीलाई लय मिलाउन हम्मे परेको देखिन्थ्यो ।

नेपालले बिहीबार नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्दै छ । आईसीसी विश्वकप लिग २ मा अमेरिका र ओमानसँग खेल्नुअघि नेपालले अल स्टार्स र ह्युस्टन हरिकनसँग दुई अभ्यास खेल खेल्ने छ । लिग २ का खेलहरू जुन ८ देखि सुरु हुनुअघि नेपाललाई यहाँको कन्डिसन बुझ्न यी दुई अभ्यास खेल निकै उपयोगी हुने विश्वास लिइएको छ ।

मंगलबार पेरिरी भ्यूको अभ्यास अनुभवले नेपाललाई अमेरिकामा हुन लागेको लिग २ का खेलहरू कन्डिसनको हिसाबमा निकै कठिन हुने देखाएको छ । यही कन्डिसनमा अभ्यस्त हुन नेपाली टोली १० दिनअघि नै आइतबार टेक्सासको ह्युस्टन आइपुगेको थियो । यो अवस्थालाई लिएर अमेरिकाको प्रशिक्षक पनि रहिसकेका दासानायके परिचित छन् ।

‘कन्डिसन निकै चुनौतीपूर्ण छ, यो सजिलो छैन । हामीले यहाँको मौसम र उच्च तापक्रमसँग अभ्यस्त हुन जरुरी छ, यी अभ्यास खेलले हामीलाई अभ्यस्त बनाउने विश्वास लिएको छु,’ दासानायकेले प्रतिघण्टा ७ माइलमा आइरहेको हावाको बेग छिचोल्दै नेपाली सञ्चारकर्मीसँग भने, ‘यो कन्डिसनमा विकेटले पनि स्पिनरलाई सहयोग गर्छ, हामीले त्यहीअनुरुप तयारी गर्नुपर्छ ।’

लिग २ मा नेपालले आफ्नो खेलहरू पियरल्यान्डको मोसा क्रिकेट रंगशालामा खेल्ने छ, जुन अमेरिकाको मुख्य क्रिकेट मैदान हो । फ्ल्याट विकेटमा अहिले अमेरिकाले स्कटल्यान्ड र यूएईविरुद्ध खेलिरहेको छ । विकेटमा कुनै घाँस नरहेकाले स्पिनमैत्री हुने दासानायकेले देखेका हुन् । त्यहाँ बल बसेर आउने हुनाले ब्याट्सम्यानका लागि कठिन हुने अनुमान अमेरिका, स्कटल्यान्ड र यूएईका खेलहरूले देखाएको छ ।

अन्यथा दासानायकेका लागि प्लेइङ ११ छान्नु खासै टाउको दुखाइको विषय देखिँदैन । उनी ओपनिङ ब्याटिङमा कुशल भुर्तेल र आसिफ शेखसहित तेस्रो नम्बरमा देव खनालले स्थान मजबुत बनाइसकेको जनाउँछन् । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र आरिफ शेखले मध्यक्रमलाई अझ बलियो बनाएका छन् । सातौं नम्बरमा पर्न विनोद भण्डारी र आदिल अन्सारीको प्रतिस्पर्धा देखिन्छ ।

चार नियमित बलरमा कप्तान सन्दीप लामिछानेसहित तीव्र गतिका बलरद्धय करण केसी र सोमपाल कामीले खेल्ने निश्चित जस्तै छ । सन्दीपको स्पिनर जोडीको रूपमा देब्रेहाते बलरद्वय सुशन भारी र सागर ढकालबीच प्रतिस्पर्धा हुने देखिन्छ । तीनै नियमित स्पिनर खेलेमा विनोद र आदिल दुवैबाहिर रहन सक्ने खाका दासानायकेले बनाएका छन् । ओपनिङ जोडी जम्न नसकेमा मात्र सुनील धमलाको पालो आउन सक्ने छ ।

नेपाली अल स्टार्स र ह्युस्टन हरिकन्ससँगको अभ्यास खेलमा उनी नेपाली टोलीका सबै १५ खेलाडीलाई मौका दिने तयारीमा छन् । जिम्बावे ‘ए’ विरुद्ध अघिल्लो महिना अन्तिम खेलमा ५ विकेट लिएका मध्यम गतिका बलर किशोर महतोले पनि यी दुई अभ्यास खेलमा आफूलाई प्रमाणित गर्ने मौका पाउनेछन् । उनी करण र सोमपालको विकल्पमा रहनेछन् ।

टोलीमा रहेका खेलाडीमध्ये एकदिवसीय अन्तर्राष्ट्रियमा किशोरले मात्र ‘डेब्यु’ गर्न बाँकी छ तर विकेटको जुन कन्डिसन यहाँ देखिएको छ, त्यस हिसाबमा उनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेल्न थप समय कुर्नुपर्ने देखिन्छ ।

यसका बावजुद अमेरिका र ओमानसँगको खेल जित्न नेपाली टोली योग्य रहेको दासानायके दाबी गर्छन् । उनका अनुसार अमेरिका र ओमान बलियो रहे पनि आफ्नो क्षमतामा खेल्ने हो भने नेपाल उनीहरूविरुद्धको खेल जित्न सक्षम छ । नेपालले अमेरिकासँग लिग २ मा ४ मध्ये तीन खेल जितेको छ भने ओमानसँग ४ मध्ये तीन खेलमा पराजित भएको छ ।

नेपालपछि सन् २०१६ देखि २०१९ सम्म दासानायके अमेरिकाको प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा विश्व क्रिकेट लिगको डिभिजन ४ मा रहेको अमेरिका एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली बनेको थियो । त्यसक्रममा उनी मोसा क्रिकेट रंगशालामा नियमित आउने जाने गर्थे ।

जनवरीमा दोस्रो कार्यकालका लागि नेपालको प्रशिक्षक बनेर आउनुअघि उनी गत वर्ष अमेरिकाको माइनर लिग क्रिकेटमा एउटा टोलीका प्रशिक्षक थिए । ‘म यहाँको स्थितिसँग परिचित छु, मोसा अमेरिकाको मुख्य क्रिकेट मैदान हो, यहाँ मैले धेरै समय बिताएको छु, नेपाल पनि अमेरिका र ओमान दुवै टोलीसँग एकदमै नजिक छ,’ विगतमा अमेरिकाको प्रशिक्षक रहिसकेकाले त्यसको फाइदा नेपाली टोलीलाई कति हुन्छ भन्ने प्रश्नमा दासानायकेले भने, ‘यो मौकाको हामीले कतिको उपयोग गर्न सक्छौं, त्यसमै सबै भरपर्छ ।’

नेपाली अल स्टार्समा रहेका कोरे एन्डरसन र स्याड्ली भान स्यालकविकले नेपालविरुद्ध खेल्ने टोलीबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् । स्यालकविक ह्यामस्ट्रिङका कारण र एन्डरसन पिता बन्न लागेका कारण नखेल्ने भएका हुन् । त्यसका साथै नेपालका पूर्वराष्ट्रिय कनिष्क चौगाईं अल स्टार्सको टोलीमा रहे पनि खेल्ने छैनन् । एन्डरसनको स्थानमा न्युजिल्यान्डका ओपनिङ ब्याटर मार्टिन केन र स्यालकविकको स्थानमा दक्षिण अफ्रिकाका हिथ रिचर्डसलाई अल स्टार्स टोलीमा राखिएको छ ।

यद्यपि अल स्टार्स टोली बलियो देखिन्छ । टोलीमा इन्डियन प्रिमियर लिग खेलिसकेका विपुल शर्मा र हरमित सिंह, क्यानडाका नितिश कुमार, पाकिस्तानका मोहम्मद इल्याज, अमेरिकाका आदिल भाटी, दक्षिण अफ्रिकाका एन्ड्रेज गोएजसहित नेपालका वसन्त रेग्मी र पृथु बाँस्कोटा छन् । रणजी खेल्दै आइरहेका भारतीय खेलाडी उदय कौल पनि अल स्टार्स टोलीमा थपिएको अल स्टार्सका प्रबन्धक सञ्जय शर्माले जनाए । पेरिरी भ्यूमा बुधबार अभ्यास गरेपछि अल स्टार्सले आफ्नो प्लेइङ ११ निश्चित गर्नेछ ।

राष्ट्रिय टोलीमा गरेको योगदानप्रति उच्च सम्मान दिँदै कप्तान सन्दीप लामिछानेले वसन्त र पृथुबारेमा भने, ‘उहाँहरूले नेपाली क्रिकेटका लागि धेरै योगदान दिनुभएको छ र निकै अनुभवी हुनुहुन्छ । तर उहाँहरू जब मैदानमा विपक्षी बनेर आउनुहुनेछ, उहाँहरूलाई अरू विपक्षी टोलीको खेलाडीकै जसरी लिने छौं र हामी आफ्नो तर्फबाट शतप्रतिशत दिनेछौं ।’

सन्दीपको कप्तानीमा नेपालले लिग २ मा खेल्न लागेको यो दोस्रो शृंखला हो । मार्चमा यूएई भ्रमणमा नेपालले यूएईसँगको दुवै खेल हारेको थियो भने पपुवा न्युगिनीलाई दुबै खेलमा पराजित गरेको थियो । तर त्यही पपुवा न्युगिनीसँग घरेलु मैदानमा नेपालले दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा ‘ह्वाइटवास’ हार भोगेको थियो ।

नेपालको तुलनामा ह्युस्टनको कन्डिसन निकै चुनौतीपूर्ण रहेको स्वीकार्दै सन्दीपले भने, ‘हामीले त्यहीअनुसार तयारी पनि गर्दै आएका थियौं । अभ्यास गर्दा हामी सबै खेलाडीका लागि केही कठिन बन्यो । अझै केही अभ्यास सत्रहरू बाँकी छन्, आशा गरौं त्यसपछि हामी अझ राम्रो बन्ने छौं ।’ दुई अभ्यास खेल त्यो पनि सन्तुलित टोलीविरुद्ध खेल्न लागेकाले सन्दीप यसलाई राम्रो तयारीका रूपमा लिन्छन् ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार ११:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ