नेपालको बिजुली भारतले किन्न सुरु गर्यो, प्रतियुनिट साढे १० रुपैयाँ सोझै प्राधिकरणको खातामा


काठमाडौं । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ ।

बुधबार रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स)मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । ‘हिजो रातिबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली भारत निर्यात हुन थालेको छ,’ उनले भने ।

उनका अनुसार सबै सेवा शुल्कहरु घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ । यो सोझै प्राधिकरणको खातामा आउने रकम हो । ह्विलिङ चार्ज, मध्यस्थकर्ता कम्पनीको सेवाशुल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको प्राधिकरणले जनाएको छ ।

नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो । वर्षायाममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

भारतले हालसम्म नेपालका २ वटा आयोजनाको मात्रै बिजुली किन्नका लागि स्वीकृति दिएको छ । तर नेपालले भने विभिन्न ८ वटा आयोजनाको बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ । भारतले यसअघि २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो ।

नेपालले भने माथिल्लो तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्न भारतलाई प्रस्ताव गर्दै आएको छ ।

गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी)को बैठकका क्रममा नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु आयोजनाको बिजुली किन्नका लागि भारत सहमत भएको थियो । तर अरु आयोजनाको बिजुली आईईएक्स खरिद–बिक्रीका लागि भने हालसम्म अनुमति दिइएको छैन ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ