जसपाले पनि मन्त्री हेरफेर गर्दै, लोसपालाई सरकारमा सहभागी गराउने तयारी


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको तयारी गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवले कार्यसम्पादनमा कमजोर तथा पार्टीका अन्य नेतालाई मौका दिन पार्टीबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेका हुन् ।

यसका लागि अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर परामर्श गरिरहेका छन् । आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा रहेका ६ मध्ये चार जनालाई फिर्ता बोलाएको छ ।

साथै नयाँ मन्त्रीमा चार जनाको नाम सिफारिस गरेको छ । नयाँ मन्त्रीहरुको सपथ सोमबार हुँदैछ । यही बेला जसपा अध्यक्ष यादव पनि मन्त्री हेरफेरको तयारीमा रहेको खुलेको हो ।

उपेन्द्रनिकट जसपाका एक नेताकाअनुसार आगामी चुनावलाई समेत केन्द्रीत गरेर अध्यक्ष यादव हेरफेरको तयारीमा छन् । यसबारेमा उनले प्रधानमन्त्री देउवालाई जानकारी गराइसकेका छन् ।

जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन् । जसपाले नयाँ अनुहारमा प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलगायतलाई पठाउने तयारी गरेको छ ।

लोसपालाई सहभागी गराउने तयारी
प्रधानमन्त्री देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन् ।

देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन् । शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको र अन्य मुद्दा सम्बोधनका लागि तयार रहेको भन्दै ठाकुरलाई सत्ता सहकार्यका लागि अनुरोध गरेका थिए ।

देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन् । यसमा अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । यसैअन्तर्गत आइतबार विहान लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो ।

देउवाले लोसपाका शीर्ष नेताहरुलाई मंगलबार पुन: बालुवाटार बोलाएका छन् । लोसपाका नेताहरुले प्रधानमन्त्रीबाट सरकारमा सहभागी हुन प्रस्ताव आएको र त्यसमा छलफलमै रहेको बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार २०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ