Good News : भारतमा बिजुली बेचेर दैनिक ५ करोड कमाउँदै नेपाल


काठमाडौं । वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ ।

कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।

सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले भोलि १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ ।

कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।

सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ ।

न्युनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणलो जनाएको छ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ ।

प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक-फरक तय हुन्छ । प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो ।

भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको छ । रातमा खरेर जाने बिजुली नै बेच्न सक्ने अवस्था रहेकाले प्राधिकरणले राम्रो मूल्य पाएको अधिकारीहरु बताउँछन् ।

सोमबार मात्रै नेपालबाट भारतमा ५ करोड १२ लाख ४१ हजार नेपाली रुपैयाँ (३ करोड २० लाख भारु)को बिजुली विक्री गर्नका लागि दर स्वीकृत भएको छ ।

भारतले अहिलेसम्म नेपाललाई ३६४ मेगावाटका आयोजनाका बिजुलीलाई भारत निर्यात गर्न अनुमति दिएको छ ।

मनसुन सुरु भएपछि नेपालले भारतबाट अनुमति पाएका सबै आयोजनाबाट बिजुली निर्यात गर्नेछ । यसअनुसार नेपालले वर्षयाममा दैनिक १० करोडभन्दा बढीको बिजुली बेच्न सक्ने देखिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार ०७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ