२ हजार लगानीबाट सेयर बजारमा प्रवेश, २३ वर्षको उमेरमै बने १०० करोडको मालिक


जब–जब सेयर बजारबाट ठूलो धनराशि कमाउने कुरा आउँछ तब–तब वारेन बफेट, राकेश झुनझुनवाला र राधाकिशन दमानीजस्ता व्यक्तित्वको कुरा अवश्य हुने गरेको छ ।

तर, आजको युगमा हैदरावादका संकर्ष चन्द पनि यो सूचीमा आफ्नो स्थान बनाउन सफल देखिन्छन् । अचम्मको कुरा के छ भने १७ वर्षको कलिलो उमेरमै सेयर बजारमा पैसा लगानी गर्न थालेका संकर्ष अहिले २३ वर्षका भए । आजको समयमा संकर्ष करिब १०० करोडको मालिक छन् ।

संकर्षले सेयर बजारमा मात्रै लगानी गर्दैनन्, उनी स्भोदा इन्फिनिटी इन्भेस्टमेन्ट एड्भाइजर्स प्रालि नामक फिनटेक स्टार्टअपका संस्थापक पनि हुन् । उनको स्टार्टअपले मानिसहरुलाई सेयर बजार, म्युचुअल फन्ड र बन्डमा लगानी गर्न मद्दत गर्छ ।

उनले २०१७ मा पढाइ छाडेर ३५ जनासँग ८ लाख रुपैयाँ लगानी गरेर कम्पनी खोलेका थिए । उनले बेनेट युनिभर्सिटी (ग्रेटर नोएडा) बाट बीटेक कम्प्युटर साइन्स पढ्दै थिए तर सेयर बजारमा रुचिका कारण पढाइ बीचमै छाडे ।

संकर्षले हैदरावादको एक विद्यालयबाट १२ कक्षा पूरा गरेपछि २०१६ मा सेयर बजारमा लगानी गर्न थालेका थिए । उनले जम्मा २ हजार रुपैयाँबाट लगानी गर्न थालेका थिए । सेयर बजारमा प्रवेश गरेको २ वर्षमै उनले मनग्य कमाए ।

संकर्षले एक अन्तर्वार्तामा आफूले २ वर्षमा सेयर बजारमा करिब डेढ लाख रुपैयाँ लगानी गरेको र २ वर्षमा १३ लाख रुपैयाँ भएको बताए । कम्पनी सुरु गर्न उनले ८ लाख सेयर बेचेका थिए ।

संकर्ष उमेरमा सानै होला तर उनको काम अनुभवी लगानीकर्ताको जस्तै छ । सन् २०१६ मा संकर्षले फाइनान्सियल निर्वाण नामक पुस्तक पनि लेखेका थिए । यो पुस्तकले व्यापार र लगानीबीचको भिन्नता बताउँछ ।

संकर्ष करोडपति भइसकेका छन् । तर, उनी निकै साधारण जीवन बिताउँछन् । उनी प्रायः टी–सर्ट र सर्टमा देखिन्छन् । सभा वा कार्यक्रममा जानु पर्दामात्रै उनी विशेष लुगा लगाउँछन् । –एजेन्सी

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ