कोरोना बिमाको रकम भुक्तानी दिन उच्च अदालतको आदेश


काठमाडौं । पत्रकारको कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा परमादेश जारी गरेको छ ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा गत सोमबार परामादेश दिएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको कोरोना बिमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै २०७८ भदौ २१ मा उच्चमा रिट दायर गरेको थियो ।

निवेदकको पक्षमा परमादेश आदेश भएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । ‘फैसलाको पूर्णपाठ आउन अझै एक साता लाग्छ,’ उनले भने, ‘तर बिमा गर्ने कम्पनीबाटै बिमाको रकम भुक्तानी गर्नुपर्ने आदेशमा उल्लेख छ ।’

उनका अनुसार यो फैसला कोरोना संक्रमित मोरङका ३१ जना पत्रकारको हकमा मात्र हो । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । त्यसमध्ये ५१ जना बिमित पत्रकार संक्रमित भएकामा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । अझै ३१ जनाले भुक्तानी पाउन बाँकी छ ।

गत सोमबार भएको पेसीमा पत्रकार महासंघका तर्फबाट अधिवक्ता मनोजकुमार आचार्यले पैरवी गरेका थिए । विपक्षीका तर्फबाट ५ जना कानुन व्यवसायी बहसमा उत्रिएका थिए । वादी र प्रतिवादीको बहसपछि उच्च अदालतले बिमा गर्ने कम्पनी अजोड इन्स्योरेन्सका नाममा बिमा रकम भुक्तानी गर्न परमादेश आदेश गरेको सूचना अधिकारी सुवेदीले बताए ।

‘अदालतले निवेदकको पक्षमा फैसला गरेकाले अब सरकारलाई देखाएर बिमा कम्पनी उम्किने अवस्था रहँदैन,’ अधिवक्ता आचार्यले भने, ‘सम्झौता बिमा कम्पनी र बिमितबीच भएको हो । बिमालेखमा अरू कुनै सर्तहरू उल्लेख छैन । यसकारण कानुनतः बिमा भुक्तानी दिने जिम्मेवारी अजोड इन्स्योरेन्सकै हो ।’

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ