किसानको आँशुले हामीलाई पोल्छ : गगन थापा


काठमाडौं । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले वर्षैपिच्छे किसानहरूले मलको अभाव झेल्नु परेको तर जिम्मेवार व्यक्तिहरूले दीर्घकालीन समाधान नखोज्दा समस्या दोहोरिएको बताएका छन् ।

सरकारले मलको समस्या समाधान गर्न नसकेको हो कि गर्न नचाहेको हो भन्ने प्रश्न उठेको पनि उनले बताए ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले वर्षौंदेखि मलको समस्या दोहोरिएको तर सरकारको काम गर्ने शैली नफेरिएका कारण समस्या समाधान नभएको बताए ।

‘सरकार फेरियो, मानिस फेरिए, मन्त्री फेरिए तर मलको कथा जहिले पनि यस्तै रह्‍यो । अघिल्लो, त्योभन्दा अघिल्लो, त्यो भन्दा अघिल्लो सालको पत्रिका पल्टाएर हेर्‍यौं भने पनि मलको कथा र हामीले गरेका छलफल यस्तै रहे,’ उनले भने ।

उनले थपे, ‘हामीले यत्रो बजेट छुट्यायौं तर मल नै नआए गर्ने के हो ? किसानलाई मल दिन्छौं भनेर दायित्व लिएर आएका छौं, प्रत्येक वर्ष चुक्छौं । हामी सबैलाई लज्जावोध हुनुपर्ने हो । अप्ठ्यारो लाग्नुपर्ने हो । हामीसँग सबै स्रोतसाधन छ । पैसा नपुगेर, ऐन, नियम, कानुन नभएको भए, असामान्य अवस्था भएको भए भन्न मिल्थ्यो । सबै कुरा ठिकठाक हुँदैगर्दा पनि गर्न सक्दैनौं भनेपछि हामीले गर्न नचाहेको कि गर्न नसकेको । हामीले यसलाई स्वीकार्नु पर्छ । काम गर्ने तरिका बदल्नुपर्छ । किसानहरूको आँशुले हामीलाई पोल्छ ।’

थापाले यो वर्ष किसानले आवश्यक पर्ने मल नपाउने निश्चित भएको पनि बताए । जेठ र असारमा २ देखि ३ लाख मेट्रिक टन चाहिनेमा कृषि मन्त्रालयले वक्तव्य निकालेर असारसम्म १ लाख ९२ हजार मेट्रिक टन आउने भनेको स्मरण गराउँदै थापाले भने, ‘सभामुख महोदय, आउँदैन, आउन सक्दै सक्दैन । अहिले मौज्दात ७ हजार मेट्रिक टन छ । ६०-७० हजार मेट्रिक टन आउँछ भनिएको छ । २० हजार बाटोमा छ । दिनको २ हजार मेट्रिक टनभन्दा बढी आउन सक्दैन । यो फेरि अहिले मात्रै भएको होइन । गएको साल पनि मनसुन राम्रो भयो मलको कारणले गर्दा हामीलाई ठूलो घाटा भयो ।’

प्रत्येक वर्ष दोहोरिने मलको हाहाकार हटाउन सरकारले दीर्घकालीन उपाय खोज्नुपर्ने थापाको सुझाव थियो । उनले यो वर्ष खेर गए पनि आगामी वर्ष खेर नजाओस् भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

‘प्रत्येक वर्ष यस्तो भएको छ । यो वर्ष गएपनि केही काम भएपनि अर्को वर्ष खेर जाँदैन, मलको कारखाना खोल्नुपर्ने हो खोलिहालौं । यसका बारेमा पनि प्रत्येक वर्ष मौसमी गफजस्तो भयो,’ उनले भने, ‘सकिन्छ, हुन्छ भने मल कारखाना खोलौं । खोली हालौं, सुरु गरौं ।’

मल आयात लगायत काम गर्ने कृषि मन्त्रालयको संरचनाले काम नगरेको थापाको भनाइ थियो । उनले कति बजेट छुट्याउने भन्दा पनि कमि परिमाणमा मल ल्याउने भन्ने उद्देश्य राखेर अघि बढ्नुपर्ने बताए ।

‘वर्षौंदेखि जे कुरा गर्दै आएका छौं त्यै गरेर फरक परिणामको अपेक्षा गर्नु भनेको पागलपनभन्दा अरु केही पनि होइन । गर्ने त्यही गरेका छौं, संरचना त्यही छ, काम गर्ने तरिका त्यही छ । त्यसरी नै किन्छौं मल आउँदै आउँदैन । मल नै नभएपछि गर्ने के ?,’ उनले भने ।

मल अभावको चक्र तोड्न नसक्दा कृषि उत्पादन बृद्धिमा मुलुक चुकेको थापाको भनाइ थियो ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ