उपेन्द्र यादवलाई कर्णको जवाफ : हिजो पार्टीबाट निकाल्ने, आज संकट पर्दा एकता प्रस्ताव ?


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोसपा सरकारमा जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताए ।

प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन आउनु नभनेको स्पष्ट पारे । ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको र प्रधानमन्त्रीले हामीलाई आऊ भन्दै नभनेको कुरो तपाईंहरु प्रचार गरिराख्नु भएको छ’, उनले पत्रकारहरुलाई भने ।

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो-बाटोबाट लोसपालाई एकीकरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि जनाए ।

अध्यक्ष यादवले विगतमा आफूहरुलाई निकालेर पार्टी फोड्न निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेपछि सहयोग खोजेको बताए ।

संकट टरेपछि लखेट्ने प्रवृत्ति अध्यक्ष यादवमा रहेको पनि उनले बताए। ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ। हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटि राख्दा एकीकरण गरेर जोगाएको होइन ?’, उनले सोधे, ‘त्यसमा मसमेत महन्थ ठाकुरलाई उहाँले निकालेको होइन ? पार्टी फोड्न आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल? आज फेरि पार्टीमा संकट आएको छ उहाँको । संकट आयो भने हाम्रो सहयोग खोज्ने । संकट टरेपछि लखेटिदिने ।’

यादवले बाटो बाटोमा कुरा एकताको कुरा गरेको बताउँदै उनले त्यसमा प्रश्न गरे । ‘के का लागि एकिकरण ? किन एकिकरण ?’, उनले भने, ‘हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

सांसद कर्णले औपचारिक रुपमा एकीकरण प्रस्ताव नआएको पनि पत्रकारहरुलाई जानकारी दिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ