फोहोर नउठ्दा झाडापखालाका बिरामी बढे : दैनिक १० जनासम्म अस्पताल भर्ना !


काठमाडौं । दुई साताभन्दा बढी समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा झाडापखालाका बिरामी बढेका छन् ।

बर्खाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर बिग्रिएर दूषित हुँदा झाडापखालाको प्रकोप सुरु भएको छ । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले दिनप्रतिदिन बिरामी बढ्न थालेको जानकारी दिए । अहिले अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका भएको उनले बताए ।

राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ ।

‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा. पुनले भने । झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् ।

नयाँ प्रकारको झाडापखाला देखिएकाले लक्षणका आधारमा उपचार गरिएको चिकित्सकहरूको भनाइ छ । सडकमा थुप्रिएको फोहोरबाट निरन्तर दूषित पानी बगिरहेको र उक्त पानी फलफूल वा खानेपानीमा मिसिएका कारण यस्तो समस्या आएको हुन सक्ने उनीहरूको अनुमान छ ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ