यसपाली वर्षा र बाढीबाट २० लाख मानिस प्रभावित हुने, मधेस खतरामा !


काठमाडौं । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो ।

‘कुनकुन क्षेत्रमा बढी वर्षा हुने रहेछ, त्यसले कहाँकहाँ बढी प्रभावित बनायो ? बाढी पहिराबाट हुने मृत्युलगायत अन्य जोखिम के रहेछ, विगतको समग्र ट्रेण्ड विष्लेषण गरियो’, डा भट्टराईले भने, ‘सोही आधारमा जोखिम न्यूनीकरणका पूर्वतयारी तथा राहत, उद्धार तथा पुन:स्थापनका लागि समन्वयात्मकरुपमा प्रतिकार्य योजना तयार भएको छ ।’

गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बढीबाट ६३ र पहिराबाट १८२ सहित ४९० को मृत्यु भयो । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसङ्ख्या अनुमान गरिएभन्दा बढी भयो ।

विसं २०७८ मा आकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुन:ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

यसपाली पनि त्योक्रम दोहोरिने सम्भावना कायमै छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान रहेको डा भट्टराईले जानकारी दिए ।

तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । बागमती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको डा भट्टराईले बताए ।

समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुनसक्ने देखिएको छ । ती वर्षा हुने भनी अनुमान गरिएका जिल्लासहितका क्षेत्रमा आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना बनिसकेका छन् ।

मनसुन सुरु भएसकेको र कतिपय स्थानमा विपद्जन्य घटना देखिइसकेको छ, तर पनि केन्द्रीयस्तरको प्रतिकार्य योजना कार्यकारी समितिबाट अझै पारित भइसकेको छैन ।

प्राधिकरणका अनुसार केन्द्रीयस्तरबाट प्रतिकार्य योजना तयारी भएको र त्यसलाई कार्यकारी समितिबाट औपचारिकता दिन मात्रै बाँकी रहे पनि विषयगत निकायले आवश्यक योजना बनाएर लागू गरिसकेका छन् ।

जतिसुकै राम्रा योजना बने पनि कार्यान्वयन कस्तो छ भन्ने कुराले निर्धारण गर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । मुलुकमा पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्दै आएको छ । प्रभावमा आधारित विपद् व्यवस्थापन कार्य हुन सकिरहेको छैन ।

प्राधिकरणले सम्भावित जोखिमको आकलनका बारेमा जानकारी गराएर काम अघि बढाएको डा भट्टराई बताउँछन् । विपद्बारे मानिसमा बुझाइमा नै समस्या छ । राहत बाँड्ने मात्रै हो भन्ने बुझाइबाट माथि उठ्नुपर्ने आवश्यकता छ ।
– नारायण ढुङ्गाना/रासस

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ