जनकपुरकी कुमारी आमा निहारिका: न्याय माग्दै बच्चासहित अनसन बस्दा प्रहरीले उठायो


काठमाडौं । न्याय माग्दै १८ महिनाको बच्चासहित आमरण अनशन सुरु गरेकी निहारिका राजपुतलाई प्रहरीले माइतीघरबाट उठाएको छ ।

निहारिका र उनलाई अनशनमा साथ दिएकी जश्मिन ओझालाई राति करिब ९ बजे प्रहरीले बलपूर्वक उठाएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुर्याएको हो ।

धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै कानूनी लडाईं लडिरहेकी छिन् । जिल्ला अदालत धनुषाले आरोपिलाई सफाइ दिएपछि उनले उच्च अदालत धनुषामा पुनरावेदन गरेकी थिइन् ।

तर चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि उनले आमरण अनशन सुरु गरेकी हुन् ।आफूहरु शान्तिपूर्णरुपमा अनशन बसिरहँदा प्रहरीहरुले लछारपछार गर्दै गाडीमा हालेको अभियन्ता जश्मिन ओझाले बताइन् ।

प्रहरीले निहारिकाको हातमा हत्कडीसमेत लगाएको उनको आरोप छ । ‘न्यायको माग गर्दै शान्तिपूर्णरुपमा अनशन बसिरहेकी पिडितलाई अपराधि झैं व्यवहार गरेर हातमा हतकडी लगाउने कस्तो प्रहरी हो ?,’ उनले भनिन् ।

जश्मिनका अनुसार प्रहरीले लछारपछार गर्दा निहारिका र उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले भने निषेधित क्षेत्रमा अनसन बसेकाले त्यहाँबाट हटाइएको बताए । उनले हतकडी लगाइएको र लछारपछार गरेको आरोप अस्वीकार गरे ।

‘बरु प्रहरीमाथि नै हातपात भएको छ,’ एसपी मैनालीले भने । घटनास्थलमा रहेकी प्रत्यक्षदर्शी शिखा खड्काले भने प्रहरीले नै बल प्रयोग गरेको बताइन् । निहारिकाले आफ्नो बच्चाको डीएनए परिक्षण गर्न पाउनुपर्ने माग गर्दै आएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ