खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी अनुराधा काठमाडौंबाट पक्राउ 


काठमाडौं । सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।

अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी भएकाले उनलाई पक्राउ गरी सप्तरी पठाइएको एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए ।

निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । नन्दकिशोरलाई बिहीबार धरानबाट पक्राउ गरिएको थियो । रामदेवसहित अन्य भने फरार छन् ।

पीडितहरूले साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरी प्रहरीमा दिएका थिए ।

उजुरी परे पनि अनुसन्धानमा प्रहरीले आलटाल गर्दै आएको थियो । विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् । उनीहरूमाथि कारबाहीका लागि संसद्मा समेत सांसदहरूले माग गरेका छन् ।

यसअघि पक्राउ परेका नन्दकिशोरमाथि अनुसन्धान गर्न प्रहरीले शुक्रबार जिल्ला अदालत सप्तरीबाट पाँच दिन म्याद थप भएको नयाँ पत्रिका अनलाइनमा समाचार छ ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ