Breaking- १५ असारभित्रै विकास निर्माणको काम सम्पन्न गरी भुक्तानी लिनुपर्ने


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाले महानगरसँग सम्झौता गरेर योजना अघि बढाइरहेका ठेकेदार र उपभोक्ता समितिले असार १५ दिन काम सकेर भुक्ताली लिइसक्नुपर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको महानगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको नगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । त्यस्तै असार १० गते नगरसभा गर्ने, बजेट तर्जुमाका लागि उप–प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बजेट तर्जुमा समिति गठन गर्ने निर्णय पनि नगर कार्यपालिकाको बैठकले गरेको छ ।

नगर प्रमुखको सचिवालय गठनका लागि कार्यविधि बनाउने तथा निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीको कार्यकालमा गरिएका विभिन्न ठेक्का सम्झौता खारेजीका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि कार्यापालिका बैठकले गरेको छ । बोर्ड बैठकले कानुनी सल्लाहकारसँगको परामर्शमा काम अघि बढाउने अधिकार नगर प्रमुख सिंहलाई दिएको छ ।

विशेषगरी सवारी कर, सरसफाई, नयाँ बसपार्क, पुरानो बसपार्कमा लगाइएको ठेक्काको विषयमा नव निर्वाचित नगर प्रमुख सिंहले असन्तुष्टी जनाउँदै आएका छन् ।

बैठकमा वडालाई दिने बजेटका बारेमा पनि छलफल भएको छ । ३२ वटै वडाका अध्यक्षहरुले बजेट बढाएर दिन आग्रह गरेका थिए ।

नगर प्रमुख सिंहले महानगरपालिकाको आन्तरिक आयको अवस्था राम्रो नरहेको र संघ सरकारले पनि अघिल्लो वर्षको भन्दा ५ करोड बजेट कम दिएकोले बजेट थपेर दिन नसक्ने बताएका थिए ।

नगर प्रमुख सिंहले संघ सरकारसँग थप बजेट माग गरेर ल्याउने वडामा विभिन्न कार्यक्रम पठाउने आश्वासन पनि दिएको बैठकमा सहभागी एक वडा अध्यक्षले जानकारी दिए ।

३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा नगर प्रमुख, उपप्रमुख, ३२ जना वडा अध्यक्ष र निर्वाचनबाट आएका ५ महिला, र ३ जना दलित वा अल्पसंख्यक गरी ४२ जना कार्यपालिका सदस्य छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार २१:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ