मधेस सहितका ठाउँमा भारी वर्षाको सम्भावना, सडक अबरूद्ध हुनसक्छ, सतर्क रहन अनुरोध


काठमाडौं । बुधबार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारी वर्षासँगै उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सचेत रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।

नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने संभावना रहेको विभागले जनाएको छ ।

अहिले देशको प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।

वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७९ असार १, बुधबार ०६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ