साउदीमा ८७ अवैध नेपालीले पाए एक्जिट भिसा, समस्या परे कहाँ फोन गर्ने ? हेर्नुहोस्


दोहा । साउदीमा ८७ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । ८-१६ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ८७ जनाको एक्जिट भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पत्र लिएर जान अनुरोध गरेको छ । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङका लागि मोबाइल नं. ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ