पकुवा खोलाबाट खानेपानी ल्याउन कोदालो र बेल्चा चलाएर श्रमदान गरे मेयर हर्क साम्पाङ


धरान । वैशाख ३० गतेको निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको प्रमुख चुनावी थियो, नगरबासीलाई खानेपानी सहजरुपमा वितरण गर्ने ।

पानीको चरम अभाव भोगिरहेका धराने जनताले स्वतन्त्र उम्मेदवार साम्पाङलाई विश्वास गरेर मेयर पदमा जिताए। साम्पाङ मेयर पदमा जित भएको एक महिना पनि भएको छैन, उनी चुनावी एजेण्डा पुरा गर्न कम्मर कसेर लागिपरेका छन् ।

खानेपानीको बिग्रेको संरचना मर्मत गर्न, चुहावट रोक्न र नयाँ स्रोत खोजीमा उनी दिनरात खटिएका छन् । साम्पाङको निर्देशन अनुसार धरान वडा नं २० स्थित पकुवा खोलाको अध्ययनबाट पानी ल्याउन सम्भव देखिएपछि शनिबारदेखि निर्माण कार्य सुरु भएको छ ।

उक्त निर्माण कार्यमा मेयर साम्पाङ आफै श्रमदान गर्न खटिएका छन् । मेयर साम्पाङ आफै पकुवा खोलाको मुहान क्षेत्रमा पुगेर शनिबार ढुंगा बोके भने गैती र बेल्चाले टंकी निर्माणको लागि श्रम गरे ।

उनलाई साथ दिन सयौं धराने युवायुवतीहरु पनि श्रमदान गर्न पुगेका थिए । तिनै मध्ये एक हुन्, धरानका व्यवसायी कुन्दन श्रेष्ठ । मेयर साम्पाङको जोश र योजनादेखि प्रभावित भएर आफू पनि साथ दिन आएको श्रेष्ठले बताए । उनले भने,‘मेयरसाबको जोश र भावनादेखि म असाध्यै प्रभावित भए, त्यसैले राम्रो काममा साथ दिन आएको हुँ ।’

यस्तै, गायक तथा कलाकार भक्तिराज राईले पनि जुनसुकै दलको व्यक्ति वा स्वतन्त्र भएपनि राम्रो काम गर्न चाहनेलाई साथ दिनुपर्ने बताए । उनी पनि शनिबार मेयर साम्पाङसँगै श्रमदान गर्न पकुवा खोला पुगेका थिए ।

‘धरानको विकासको लागि कुन पार्टीको मान्छे भनेर नहेरौं, राम्रो काम गर्ने जो कोहीलाई साथ, समर्थन गरौं । धराने जनताले दिएको यो साथले त्यही देखाउछँ,’ उनले भने ।

मेयर साम्पाङका अनुसार उनी अझै २ दिनसम्म श्रमदान गर्नेछन् । धरान मिलेर निर्माण गर्नुपर्ने भन्दै साम्पाङले साथ दिन आह्वानसमेत गरे ।

‘स्वतस्फुर्त धरानबासीको साथ पाएको छुँ, यसैगरि पाउनेछुँ भन्ने आशा छ,’उनले भने, ‘अहिले पानीको स्रोत बढाउन लागेका छौं । यहाँबाट पानी थप भएपछि जंगलबाट पम्प चलाउन कम हुन्छ, त्यसले विजुली र डिजेलको खर्च बचाउँछ ।’

धरानको खानेपानी अभाव टार्नको लागि एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सवा २ अर्बको आयोजना कार्यान्वयन गरिएको थियो। म्याद थप गर्दै निर्माण भएपनि आयोजनाले धरानको खानेपानी समस्या हल गर्न सकेन ।

गएको चुनावमा पानीलाई प्रमुख एजेण्डा बनाएका साम्पाङलाई जनताले मत दिएर जिताए। अहिले उनी पानीको समस्या हल गर्न केन्द्रित भएका छन्। उनी भन्छन्, ‘मेरो पहिलो प्राथमिकता खानेपानी नै हो। यसैमा केन्द्रित छुँ। बजेटमा पनि पानीलाई प्राथमिकता दिने भनेर कार्यपालिकाबाट निर्णय भएको छ।’

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार वडा नं १७ र ११ मा विष्णुचोकबाट पानी वितरण गर्ने सिस्टम सबै विद्युतबाट चल्ने हो । त्यहाँको विजुलीको मासिक खर्च मात्र १२ देखि १५ लाख हुन्छ। यहाँबाट ६,७ महिना पानी लैजाँदा मात्र पनि विजुलीको खर्च धेरै कम हुने उनले बताए ।

‘त्यो सिस्टममा चौबिसै घण्टा विजुलीबाट पम्प, मोटर चल्छ । त्यसले खर्च अत्यधिक हुन्छ । यहाँबाट पानी लैजाँदा ६,७ महिना विजुली खर्च कम हुन्छ,’ उनले भने । – नागरिक न्यूज

प्रकाशित : २०७९ असार ४, शनिबार २२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ