इनारमा पसेर सफा गर्ने क्रममा अक्सिजन नपुग्दा २ जना गरिब मजदुरको मृत्यू


चितवन । चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई गरिब मजदुरको मृत्यु भएको छ ।

माडी नगरपालिका ७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको हो ।

माडी ८ का गुरुङ इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपपछि सँँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेको थिए ।

राई डोरी चुडिएर खसेका थिए । अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए ।

घटनाको विषयमा प्रहरी चौकी कल्याणपुरमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरी टोलीलाई समेत अक्सिजनको कमीले उद्धारमा असहज भएको थियो ।

स्थानीय बगौडा अस्पतालबाट अक्सिजन लगेर उद्धार गरिएको माडी नगरपालिका विपद् व्यवस्थापन स्रोत व्यक्ति गोविन्द न्यौपानेले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । मृतक दुवैेजना ज्यालामजदुरी गरेर जीविका निर्वाह गर्ने मजदुर हुन् ।

यसअघि जेठ २ गते चितवनको भरतपुरमा सेप्टी ट्यांंकीमा खसेर दुई सफाइ मजदुरको मृत्यु भएको थियो ।

प्रकाशित : २०७९ असार ५, आईतवार ०६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ