रवि लामिछाने भोलि नयाँ पार्टी घोषणा गर्ने, बालाजुमा खुल्यो कार्यालय


काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् ।

भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् ।

तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् । उनी कांग्रेस, राप्रपा लगायतका पार्टीसँग सम्पर्कमा थिए । पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् ।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।

रविले पार्टी निर्माणको तयारी गरेको दाजु हरिशरण लामिछानेले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘भाइसँग मेरो कुरा भएको थियो । उसले मङ्गलवार नयाँ पार्टी घोषणा गर्न लागेको मलाई बताएको छ । उसलाई मैले शुभेच्छा दिएको छु ।’

हरिशरण स्वयम्ले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भाइलाई पार्टी निर्माण साथ दिन आफू तयार रहे पनि रविले अहिले सहकार्य नगर्ने मनसाय राखेको उनले बताए ।

‘दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरू आउँछन् भनेर उसले मलाई त्यसमा नजोडिन सुझाव दियो र मलाई पनि ठिकै लाग्यो,’ उनले भने । रविनिकट अर्को स्रोतले पनि उनले नयाँ पार्टी घोषणा गर्न लागेको पुष्टि गरेको छ ।

रविको टिमले भने भोलिसम्म सबै कुरा गोप्य राख्न चाहेको छ । उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ, जुन भोलिको कार्यक्रममा घोषणा गरिने छ । पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

रविले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् । रविको टिमका एक सदस्य दीपक बोहराले सबै कुरा भोलि थाहा हुने भने कुनै पनि जानकारी दिन अस्वीकार गरे ।

‘भोलि उहाँले आफ्नो राजनीतिक करिअरको सुरुवात गर्नुहुन्छ । के–कसरी जाने भन्ने भोलि नै बताउनुहुन्छ,’ बोहराले भने । कतिपय विषयहरूमा अझै पनि छलफल जारी रहेको उनको भनाइ छ । – नेपाल प्रेस

प्रकाशित : २०७९ असार ६, सोमबार २१:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ