एक लाख २० हजारसम्म घुस खाएर सवारी लाइसेन्स वितरण गरेको खुलासा


लिखित परीक्षा र ट्रायलविनै ५३३ जनालाई लाइसेन्स बाँड्ने कार्यालय प्रमुख र बिचौलियासहित १७ विरुद्ध मुद्दा दायर

काठमाडौं । लामो समयसम्म नवीकरण नभएका तथा रद्द भएका सवारी अनुमतिपत्र (लाइसेन्स) कागजात सच्याएर नयाँ व्यक्तिका नाममा जारी हुने गरेको पाइएको छ ।

यस्तो गैरकानुनी बाटोबाट लाइसेन्स जारी गरिएको आरोपमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका दुई कार्यालय प्रमुख र बिचौलियासहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नौ महिना लामो छानबिन र अनुसन्धानपछि आयोगले अदालतमा मुद्दा दर्ता गरेको हो । घुस लिएर नवीकरण नभएका तथा रद्द भएका लाइसेन्स नयाँ व्यक्तिका नाममा जारी गर्ने दुईजना कार्यालय प्रमुख, १० जना कर्मचारी र पाँच बिचौलियाविरुद्ध आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।

कर्मचारीहरूको सहयोग र मिलेमतोमा नयाँ सवारीचालक अनुमतिपत्र लिन चाहने व्यक्तिहरूलाई लिखित र ट्रायल परीक्षाविनै सरकारी निकायमा रहेका कागजात गैरकानुनी तरिकाले सच्याई नवीकरणको बाटोबाट सवारीचालक अनुमतिपत्र प्रदान गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयोगले सवारीचालक अनुमतिपत्र, एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाइ कुस्माविरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरूले गलत नियतले मातहतका कर्मचारीलाई अख्तियारी दिएर गैरकानुनी लाइसेन्स जारी गर्न भूमिका खेलेको आयोगको आरोप छ ।

मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायकस्तर (पाँचौँ) कमल स्याङ्तान र सिनियर मेकानिक्स अच्युतप्रसाद फुँयालविरुद्ध पनि आयोग मुद्दा दायर गरेको छ ।

त्यस्तै, करारका कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठसमेतलाई आयोगले प्रतिवादी बनाएको छ । उनीहरूले अधिकारको दुरुपयोग गरेर गैरकानुनी तरिकाले लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आयोगको ठहर छ ।

गैरकानुनी लाइसेन्स बनाउन भूमिका खेलेको आरोपमा आयोगले पाँचजना बिचौलिया हरिभक्त श्रेष्ठ, उद्धबबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यलाई पनि मुद्दा दर्ता गरेको छ ।

आफ्नो पद र अख्तियारीको दुरुपयोग गरी बिचौलियासमेतको मिलेमतोमा कर्मचारीहरूले गैरकानुनी तरिकाले लाइसेन्स जारी गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

लाइसेन्स बनाउन चाहनेबाट जनही एक लाख २० हजार असुल आयोगले पेस गरेको आरोपपत्रमा उल्लेख भएअनुसार लाइसेन्स बनाउन चाहनेबाट जनही एक लाख २० हजार रुपैयाँसम्म लिएर बिचौलियाले उक्त रकम कर्मचारीसम्म पु-याएको उल्लेख छ ।

बिचौलिया गणेश अधिकारीले तुलबहादुर गुरुङ र जयबहादुर गुरुङबाट जनही एक लाख २० हजारका दरले दुई लाख ४० हजार रुपैयाँ लिएका थिए । त्यसमध्ये ८० हजार आफूले राखेर बाँकी एक लाख ६० हजार उनले अर्का बिचौलिया दीपक विश्वकर्मालाई दिएका थिए ।

विश्वकर्माले अधिकारीबाट लिएको एक लाख ६० हजार र पुरुषोत्तम रिमालबाट ३० हजार लिएर त्यसमध्येबाट ४५ हजार आफूसँग राखेर बाँकी एक लाख ४५ हजार अर्का बिचौलिया उद्धवबहादुर खत्रीलाई दिएका थिए । खत्रीले विश्वकर्मासँग लिएको एक लाख ४५ हजारका अतिरिक्त रविन सिवाकोटी, टीकाप्रसाद गौतम र आशिष कार्कीबाट क्रमशः ३५ हजार, ६० हजार र ३५ हजार रुपैयाँ लिएका थिए ।

खत्रीले अर्का बिचौलिया हरिभक्त श्रेष्ठलाई ‘ए’ वर्गको २० हजार, ‘ए, बी’ वर्गको ४० हजार र ठूला सवारी ‘एफ, जी’ वर्गको ६० हजार रकम लिएर तुलबहादुर गुरुङ, जयबहादुर गुरुङ, पुरुषोत्तम रिमाल, रविन सिवाकोटी, टीकाप्रसाद गौतम र आशिष कार्कीलाई नवीकरणको माध्यमबाट लाइसेन्स बनाइदिएका थिए ।

प्रकाशित : २०७९ असार ८, बुधबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ