कार्यक्षेत्र बाहिर पनि बालेन्द्रको चासो, सेयर लगानीकर्ताको अनशनमा पुगेर जनाए ऐक्यबद्धता


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषयवस्तुमा पनि चासो देखाउन थालेका छन् ।

बुधवार उनी नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा पुगेर एक सेयर लगानीकर्ताले गरिरहेको अनशनप्रति ऐक्यबद्धता जनाए । सेयर बजारमा तीव्र गिरावट आएपछि लगानीकर्ता तिलक कोइराला ८ दिनदेखि विभिन्न १९ बुँदे माग राखेर ८ दिनदेखि आमरण अनशनमा छन् ।

मेयर साह आज उनलाई भेट्न बोर्डमा पुगेका हुन् । सेयर बजारको मामला मेयरका क्षेत्राधिकारभित्र पर्दैन । बालेन्द्रनिकट स्रोतले मानवीय हिसाबले अनशनकारीसँग भेट्न जानुलाई अन्यथा लिनु नहुने बतायो ।

‘उहाँ अनशनकारीको माग पुरा गर्छु भनेर जानुभएको होइन,’ स्रोतले भन्यो, ‘अनशनमा बस्नुभएको व्यक्तिलाई भेट्न र स्वास्थ्य स्थिति बुझ्न जानुभएको हो ।’ बोर्डमा सेयर लगानीकर्ताहरूसँग मेयर साहले करिब १५ मिनेट बिताएका थिए ।

उनलाई सेयर लगानीकर्ताको संघर्ष समितिका व्यक्तिहरूले विभिन्न गुनासो सुनाए । ४४ खर्बको बजार अहिले २७ खर्बमा झरेको र लगानीकर्ताको बिचल्ली भएको उनीहरूको भनाइ छ ।

‘२ हजार अर्बभन्दा बेसी पैसा हामीले ७–८ महिनामा गुमायौँ,’ एक लगानीकर्ताले भने, ‘४० प्रतिशतको हाराहारीमा बजार खस्किएर ५० लाख लगानीकर्ता सडकमा आउने अवस्थामा सरकार मूकदर्शक भएर बसिरहेको छ ।’

अनशनकारीसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाउनुपर्ने लगानीकर्ताको माग छ । सेयर बजार बढाउनका लागि सरकारले विभिन्न नीतिगत सुधारका कामहरू गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

‘हामीले बजार बढाइदेऊ भनेर गएका होइनौँ,’ उनले भने, ‘पूँजिबजार विस्तार र विस्तार गरी लगानीकर्ताको हित संरक्षणका लागि हो ।’ साहलाई लगानीकर्ताहरूले युवाको ढुकढुकी भन्दै प्रशंसा गरे ।

‘रवि लामिछाने र बालेन्द्र साह भनेको युवाको ढुकढुकी हो,’ उनले थपे, ‘हामी ५० लाख लगानीकर्ताको मागका सम्बन्धमा हजुरका तर्फबाट अर्थ मन्त्रालयमा पहल होस । तपाईँको एक्लो आवाज पनि ठूलो हुन्छ ।’

एउटा बैंकबाट ४ करोड र कुल १२ करोड मात्रै सेयर कर्जा लिन पाउने व्यवस्था खारेज गर्नुपर्ने लगानीकर्ताको प्रमुख माग छ । ४/१२ को नीतिले सेयर बजार धराशायी बनाउने उनीहरूले दाबी गरेका छन् ।

सेयर लगानीकर्ताहरूलाई सम्बोधन गर्दै साहले राष्ट्र बैंक र अर्थ मन्त्रालयले वार्तामा बसेर निकास दिनुपर्ने बताए । उनले भने, ‘नेप्से बढ्यो वा घट्यो भन्दा पनि लगानीकर्ताले किन आत्तिएर सेयर बेचे भन्ने महत्त्वपूर्ण हो । लगानीकर्ताको समस्यामा म गम्भीर छु ।’ – नेपाल प्रेसबाट

प्रकाशित : २०७९ असार ८, बुधबार १५:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ