भारतीय अर्केष्ट्राबाट सिरहा र धनुषासहितका ९ चेलीको उद्धार, तर अझै घर फर्किन सकेनन्


पर्सा । झण्डै तीन साताअघि भारतका विभिन्न अर्केष्ट्राबाट उद्धार गरिएका ९ नेपाली चेलीहरू अझै स्वदेश फर्किन सकेका छैनन् ।

भारतको बिहारस्थित रामगढवा प्रहरी थानाले जेठ २१ गते रामगढवा क्षेत्रका विभिन्न आर्केष्ट्राबाट ती नेपाली चेलीहरूलाई उद्धार गरेको थियो । ९ मध्ये ४ सुनसरी, २ सिराहा, १/१ जना बारा, धनुषा र कास्कीका छन् ।

उनीहरू १६ देखि २५ वर्ष उमेर समूहका छन् । तीमध्ये ६ नाबालिका हुन् । माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार हाल मोतिहारीस्थित बालिका गृहमा आश्रित ती नेपाली चेलीहरूलाई भारतीय प्रहरीले उद्धार गरेपछि मोतिहारी जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतको आदेशपछि उनीहरूको स्वास्थ्य र उमेरसमेत परीक्षण गरिएको थियो । त्यसपछि अदालतले मोतिहारीस्थित मानव बेचबिखन विरुद्ध सक्रिय संस्थाहरू आइडिया र प्रयासलाई ती नेपाली चेलीहरूलाई नेपाल फर्काउन सहजीकरणको भूमिका खेलीदिन आग्रह गरेको थियो ।

दुवै संस्थाले माइती नेपाल वीरगन्ज आवधिक गृहसँग यस सम्बन्धमा समन्वय गरेपछि माइती नेपालले ती चेलीहरूको घर ठेगाना र अभिभावकसमेत पत्ता लगाएको पौडेलले बताइन् ।

‘भारतको अदालतले माग गरे बमोजिम माइती नेपालले ती चेलीहरूको घर ठेगाना र अभिभावको पनि पत्तो लगाइसकेको छ,’ उनले भनिन्, ‘चेलीहरूको जन्मदर्ता, नागरिकता लगायत आवश्यक कागजात करिब संकलन भइसकेको तथा सबैका अभिभावक सम्पर्कमा आइसकेका छन् र उनीहरू आफ्ना छोरी भारतबाट फर्काउन आतुर रहेका छन् ।’

माइती नेपालले चेलीहरूको जन्मदर्ता, नागरिकता लगायत कागजात संकलन गरी आइडिया र प्रयास संस्थालाई बुझाएपछि ती संस्थाले मोतिहारी अदालतमा उनीहरूको कागजात पेस गर्ने छन् । त्यसपछि अदालतले बालिग चेलीहरूलाई उनीहरूको अभिभावकको जिम्मा लगाउने आदेश दिने छ भने नाबालिक चेलीहरूलाई त्यहाँस्थित बाल कल्याण समितिको जिम्मा लगाउने छ ।

समितिले आवश्यक प्रक्रिया पूरा गरी नाबालिका चेलीहरूलाई माइती नेपालको मार्फत उनीहरूको अभिभावकको जिम्मा लगाउने छ । उद्धार गरिएका चेलीहरू आकर्षक जागिरको प्रलोभनमा परी विभिन्न नाकाबाट फरक फरक मितिमा भारत पुगेका थिए ।

आर्केष्ट्रामा उनीहरूलाई बन्धक बनाएर गीतमा अश्लि ल नृत्य गराइन्छ । मानसिक र शारीरिक शोष णसमेत हुने र आफ्नो पारिश्रमिकसमेत नपाउने हुँदा उनीहरूको जीवन कष्टकर हुन जान्छ ।

प्रकाशित : २०७९ असार ८, बुधबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ