लहानको दुर्गम मुसहर वस्तीमा ‘एकीकृत नमूना मुसहर वस्ती’ बनाउने मेयर चौधरीको घोषणा


धर्मेन्द्र पासवान, लहान । मधेश प्रदेश स्थित सिरहाको लहान नगरपालिकाका नगर प्रमुख (मेयर) महेश चौधरीले लहानको दुर्गम मुसहर वस्तीमा ‘एकीकृत नमूना मुसहर वस्ती” बनाउने घोषणा गरेका छन् ।

लहानको पूर्व-पश्चिम राजमार्गमा पर्ने रमेश चोक देखि करिब १५ किलोमिटर उत्तर चुरेको काखमा पर्ने नगरपालिका-१५ नं वडाको मनहर्वा टोलमा बसोबास गरिरहेको मुसहर वस्तीमा फुसको घर विस्थापित गर्ने भनेर जस्तापाता बाँड्न मेयर आफैं अनुगमन गर्न पुग्दा उक्त वस्तीमा नै यस्तो घोषणा गरेको हो ।

उक्त वस्तीसम्म पुग्न न बाटोघाटो छ न त बालबालिकाहरुले शिक्षा आर्जनका लागि ती मुसहर वस्तीमा नजिकमा विद्यालय पनि छैन । ३५ देखि ४० परिवार रहेको उक्त मुसहर वस्तीका सबै भूमिहीन र सुकुम्बासी नै रहेका छन् । मेयर चौधरीले तत्कालै १ हजार आँपको बोट प्रत्येक परिवारलाई ५ वटाका दरले उपलब्ध गराउने समेत भनेका छन् ।

खोलाको छेउमा टाँसिएको वस्तीमा पुग्नको लागि एक ठाउँमा पुलको आवश्यकता रहेको औल्याउँदै मेयर चौधरीले प्राविधिक लाई समेत त्यो ठाउँमा अवलोकन गराएर तत्काल पुल बनाउन निर्देशन दिइसकेका छन् ।

शिक्षाका लागि त्यही वस्तीबाट कुनै पढेलेखेका महिलाबाट कसैको छोरी बुहारीलाई त्यहाँ पढाउन नगरपालिकाले पारिश्रमिक दिने गरि व्यवस्थापन समेत मिलाएका छन् । जसले एकजनालाई प्रत्यक्ष रोजगार पनि दिने छ । खानेपानीको लागि एउट मात्र इनार रहेको ठाँउमा निकट समयमा नै डिप बोरिङ खनि त्यसमा समर्सियल मोटर हालेर ओभरहेड ट्यांकको वयवस्था गरि दिने पनि मेयर चौधरीले स्थानीयहरुलाई आश्वासन दिएका छन् ।

मेयर चौधरीका अनुसार मधेसका मुसहर मूलभूत रूपमा माटाको काम गर्ने समुदाय हुन् । मुसहरको जीवन माटामा आश्रित हुन्छ । सामन्ती सोच र व्यवहार व्याप्त रहेको मधेसी समाजमा मुसहर सबैभन्दा पीँधमा परेको अति विपन्न समुदाय हो ।

मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक तीनै प्रकारका विभेदको कारक स्थानीय मधेसी समाज हो भने, राजनीतिक अधिकार, भूमिहीनता र नागरिकता लगायतका समस्याको कारक राज्यका नीतिनियम र नियत भएको मेयर चौधरीको दावी रहेको छ ।

देशमा अनेक राजनीतिक परिवर्तन आए पनि तराईका दलितमध्ये सबभन्दा पिछडिएका मुसहर समुदायको अवस्था उस्तै छ । उनीहरू शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थामा अझै पछाडि छन् । यो समुदाय शिक्षा, स्वास्थ्य, रोजगारी र सरकारी सेवा सुविधाबाट समेत बञ्चित भएको मेयर चौधरीको आरोप छ ।

उनले भने, ‘पुस्तौंदेखि बसोवास गर्दै आएका मुसहरको मुख्य पेसा मजदुरी गर्नु हो । नागरिकता, बालविवाह, चरम गरिबी, स्वास्थ्य र शिक्षामा उचित पहुँच र सहभागिता छैन । सरकारले दलित समुदायको उत्थान र विकासका लागि वार्षिक करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका लागि पनि सरकारले उत्तिकै खर्च गरे पनि दलित तथा पिछडिएका समुदायले राज्यले दिएको सुविधा पाउन सकेका छैनन् ।’

मुसहर समुदाय धार्मिक रूपमा बहिष्कृत, सामाजिक रूपमा अपहेलित, शैक्षिक रूपमा बञ्चित, भौगोलिक रूपमा कुण्ठित, भाषिक रूपमा अपमानित र मानसिक रूपमा दमित छन् । यस्तो समयमा लहान नगरपालिकाका मेयर चौधरीले मुसहरको लागि उद्घोष गरेको ‘एकीकृत नमूना मुसहर वस्ती’ बनाउने कुरा सराहनीय रहेको र यस्तो कार्यको अन्य पालिकाले पनि देखासिकी गरुन् भन्ने मुसहर समुदायको तथा शिक्षक रामसुफल सदाले टिप्पणी गरेका छन् ।

प्रकाशित : २०७९ असार १३, सोमबार ०७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ