अन्ततः राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा


काठमाडौं । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष मन्त्री वलीले राजीनामा बुझाएकी हुन् । दुई साताअघि दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरी अभद्र व्यवहार गरेपछि मन्त्री वली विवादमा तानिएकी थिइन् ।

उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि मुख्यमन्त्रीकै निर्देशनमा वलीलाई रातारात दाङबाट बुटवल पुर्याइएको थियो । घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले छानविन समिति समेत गठन गरेको थियो ।

श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले विमलाको राजीनामाबारे मुख्यमन्त्री कार्यालयमा बुझ्ने बताएका छन् ।

प्रकाशित : २०७९ असार १५, बुधबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ