भारतबाट उद्धार गरिएका मधेसका ९ चेली स्वदेश फिर्ता


पर्सा । भारतका विभिन्न आर्केस्ट्रामा बालमजदुरी गर्दै गरेको अवस्थामा उद्धार गरिएका ९ बालबालिकालाई स्वदेश फिर्ता ल्याइएको छ ।

माइती नेपाल वीरगन्ज आवधिक गृहले नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा ती बालकालिकालाई मंगलबार साँझ वीरगन्जमा ल्याएको हो ।

आवधिक गृह प्रमुख गोमा पौडेलका अनुसार फिर्ता ल्याइएका मध्ये ४ नाबालिकाहरुको भारतको मोतिहारीस्थित एक आर्केस्ट्राबाट फागुन २ गते उद्धार गरिएको थियो । त्यस दिन ५ नेपाली चेलीहरूको यसरी उद्धार गरिएकोमा तीमध्ये एक जना २० वर्षकी थिइन् भने अन्य नाबालिका थिए ।

बालिग चेलीलाई उति बेलै आफन्तको जिम्मा लगाइएको थियो भने नाबालिगहरूलाई बाल कल्याण समितिको आदेशले मोतिहारी बालिका गृहमा राखिएको थियो । उनीहरूमध्ये ३ जना झापा र १ जना मोरङका हुन् ।

वीरगन्जबाट ती बालिकाहरूलाई बुधबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ । बालिकाहरूको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र अभिभावकहरू लिन वीरगन्जसम्म आउने अवस्था नरहेकाले केन्द्रीय कार्यालयबाटै उनीहरूलाई अभिभावकको जिम्मा लगाउने गरी पठाइएको हो ।

यी बाहेक भारतकै मोतिहारी र रक्सौलमा बाल मजदुरी गरिरहेको अवस्थामा फेला परेका ५ नेपाली बालबालिकामध्ये ३ बारा र २ पर्साका छन् । तीमध्ये ४ बालक र १ बालिका छन् भने २ जना दाजु(बहिनी हुन् ।

उनीहरूलाई घरेलु कामदार, उद्योगमा मजदुरी तथा मागेर हिँडेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनीहरू पनि भारतीय बाल कल्याण गृहको आदेशले मोतिहारीस्थित बालक तथा बालिका गृहमा आश्रित थिए ।

उनीहरूलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । भारतीय बाल कल्याण समाजले बाराको बाल हेल्प लाइनमार्फत ती बालबालिकालाई अभिभावकको जिम्मा लगाउने गृहकार्य भइरहेको उनले बताइन् । – कान्तिपुर

प्रकाशित : २०७९ असार १५, बुधबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ