काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका छन् । भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ ।
मन्त्री पौडेलले मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । पौडेलले महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे ।
दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलको जोड छ । मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता औंल्याए ।
‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्यो ।’ बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रौं भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्थामा जोड दिए ।