पानी नपर्दा संकटमा किसान: हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ , सबैभन्दा कम मधेसमा


काठमाडौं । सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

धान खेतीको ‘हब’ मानिएको मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार मधेस प्रदेशमा ३९ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा ९८७ प्रतिशत० रोपाइँ भएको छ ।

यस्तै, प्रदेश १ मा ४९, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ७५ र कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ भएको छ । जबकि अघिल्ला वर्ष यतिबेलासम्म कर्णाली, सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको हुन्थ्यो ।

सबैभन्दा कम रोपाइँ भएको मधेस प्रदेशमा जिल्लागत विवरण हेर्ने हो भने धनुषामा ३५, महोत्तरीमा ३०, सर्लाहीमा ३५, पर्सामा ४२, बारामा ४०, रौतहटमा ३२, सप्तरीमा ५० र सिरहामा ४२ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ चार लाख पाँच हजार हेक्टरमा धान खेती हुन्छ, जबकि हालसम्म एकलाख ५८ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

यसरी कम रोपाइँ हुनुको मुख्य कारण मल र सिँचाइको अभाव नै रहेको कृषि विभागले जनाएको छ । मधेस प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले पनि धान रोपाइँ नहुनुको मुख्य कारण सिँचाइ नै रहेको बताए । उनले भने, ‘करिब १० दिनदेखि पानी परेको छैन, लगभग रोपाइँ ठप्प नै छ ।’

सिँचाइको सुविधा भएकाहरूले मात्र पछिल्लो समय रोपाइँ गरिरहेको नत्र आकाशे पानीको भरमा खेती गर्ने किसानले एक साता यता धान रोप्न नपाएको उनको भनाइ छ । वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रमा रोपेको धान पनि सुक्न थालेको उनले बताए । उनका अनुसार साउनको दोस्रो हप्तासम्म धान रोपाइँ गर्न सकिन्छ ।

प्रकाशित : २०७९ श्रावण ४, बुधबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ