जसपाको केन्द्रीय समितिमा १६२ महिला थपिने


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिमा १ सय ६२ जना महिला सदस्य थप्ने भएको छ ।

कारवाही गरी डा. बाबुराम भटट्राई सहित ९ जनालाई निष्कासन गरिएसँगै केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पु-याउन लागिएको छ । भट्टराई र महिन्द्र राय यादव सहित ९ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट निष्कासन गरिएपछि केन्द्रीय समितिमा महिला सदस्यको संख्या ३३ प्रतिशत अपुग भएको बताइएको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने वैधानिक व्यवस्था छ । पार्टीले केन्द्रीय सदस्य राखिने महिला नेतृहरुको नाम संकलन गरिसकेको कार्यकारिणी सदस्य गजाधर यादवले जनाए । ‘केन्द्रीय सदस्यमा केही पुरुष र १ सय ६२ जना महिला सदस्य थपिने निर्णय भइसकेको छ’ उनले भने, साउन मसान्त भित्रै केन्द्रीय समितिलाई पूर्णता दिएर कार्यकारिणी समितिमा पनि सदस्यहरु थपिनेछ ।’

कार्यकारिणी समितिका सदस्यहरुको पद विभाजन पनि साउन महिना भित्रै हुने उनले बताए । हाल पार्टीमा अध्यक्ष बाहेक अन्य सबै कार्यकारिणी समिति सदस्य मात्र छन् । उनीहरुलाई जिम्मेवारी दिनुपर्ने पार्टी भित्र आवाज उठिरहेको छ । साउन महिना भित्र नै जिम्मेवारी बाँडफाँट हुने बताउँदै एकल जिम्मेवारीलाई प्राथमिकतामा राखिने बताउँदै दोहोरो जिम्मेवारीमा नराखिने संभावना रहेको उनले बताए ।

जसपाको वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको विधान संशोधन गरी एकल अध्यक्षको प्रावधान राखेको छ । केन्द्रीय समितिमा ४ सय ९९ जना रहेकोमा केहीले दल परिवर्तन गरेका र केही कारवाहीमा परेका छन् ।

कुल संख्या मध्ये जसपाको वीरगञ्ज केन्द्रीय समितिको बैठकमा ३ सय ७ जना सहभागी थिए । जसपामा तटस्थ रहेको दाबी गर्दै आएका कार्यकारिणी सदस्यहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, हेमराज राई र भक्तबहादुर शाह लगायतले अझै आफ्नो कित्ता स्पष्ट गरिसकेका छैनन् । तर उनीहरुलाई पार्टीले कारवाही पनि गरेको छैन् ।

तटस्थ भनिएका दुर्गा सोवलाई कारवाही गरी पार्टीको साधारण सदस्यबाट समेत हटाइसकिएको छ । तटस्थ रहेको बताउनेहरु जसपामै रहेको यादवको दाबी छ । ‘पार्टी छाडेर उहाँहरु अन्यत्र जानु भएको छैन्’ उनले भने, पार्टीले कारवाही समेत नगरेकाले उहाँहरु जसपामै रहेको बुझिनु पर्छ ।

प्रकाशित : २०७९ श्रावण ५, बिहीबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ