लोसपा र जनमत पार्टीबीच चुनावी तालमेलको गृहकार्य सुरु


काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबीच गठबन्धन बनाउनेबारे गृहकार्य सुरु भएको छ ।

गठबन्धनको प्रयासस्वरुप दुई दलबीच पटक पटक अनौपचारिक कुराकानी भएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राजधानीको तपोवनमा नौ दिने ध्यान गर्न जानुअघिसमेत लोसपाका अध्यक्ष ठाकुरसँग कुराकानी गरेका थिए ।

कुराकानी सकारात्मक रुपमा अगाडि बढेको बताइएको छ ।जनमत पार्टीका नेता बीपी साहले छलफल अझै जारी रहेको भन्दै क्रमशः छलफल हुँदै जाने बताए ।

लोसपा र जनमत पार्टी दुवैले आआफ्नो पार्टीमा अगामी चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छन् । स्थानीय चुनावमा यी दुवै दल एक्लाएक्लै चुनाव लडेका थिए । तर, पाँच दलीय गठबन्धनसँग एक्ला एक्लै चुनाव लड्दा सोचे जस्तो परिणाम आउन नसकेको दुबै पार्टीको निष्कर्ष छ ।

लोसपाले जनमत पार्टीसहित एमाले र उन्मुक्ति पार्टीसँग चुनावी गठबन्धन बनाउने तयारी गरिरहेको छ । तर, जसपाका उपेन्द्र यादव पक्षसँग तालमेल गर्ने कि बाबुराम भट्टराई पक्षसँग गर्ने भन्नेमा टुंगो लागेको छैन । तर अगामी चुनावमा विभिन्न पाँचवटा दल मिलाएर चुनावी गठबन्धन बनाउने तयारी लोसपाको छ ।

जसपा भने यतिबेला काँग्रेससहितको गठबन्धनमा रहेको छ । जसपाको बाबुराम पक्षले माओवादीसँग मिलेर समाजवादी केन्द्र बनाउने गृहकार्य पनि गरिरहेको छ । – रातोपाटी

प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ