मधेसः हत्या गरी गाडेको अवस्थामा महिलाको शव भेटियो, श्रीमान पनि पक्राउ


सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ ।

शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए। निशाका घरका सदस्यमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले बताए। ससुराली पक्षले निशाको हत्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको पाइएको उनको भनाइ छ ।

अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थमा शव फेला परेको हो । निशालाई गएको जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।

प्रकाशित : २०७९ श्रावण ७, शनिबार ०८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ