कोसीको बाढीले दिएको पीडा- २ हजार ४ सय परिवार घर छाड्न बाध्य


उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ ।

बाढीमा फसेका बेलका नगरपालिका ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

बिहानदेखि साँझसम्म उद्धार जारी रहेकोले छुटेका बाँकी रहकाहरुको खोजी भई रहेको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ । मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ ।

कोसी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट करिब २५ हजार मानिस प्रभाबित भएको उनको भनाइ छ ।

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा सुनसरी, उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका हुन् । सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही वस्ती प्रभावित भएका हुन् ।

सप्तकोसीले धार परिर्बतन गरी आएको स्थान भनेको नदीको पुरानै स्थान हो । २०४५ सालको भूकम्पपछि सप्तकोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएका हुन् ।

कोसीले उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ सप्तरीको सप्तकोसी नगरपालिकाको ६ र ७ कञ्चनरुप नगरपालिकाको १, २, ४, ५ र १० प्रभाबित भएका छन ।

बाढीमा फसेकाहरुको उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले भने, ‘साँझ सम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै २ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो ।

बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन । उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए ।

बेलका नगर प्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताए । नगर प्रमुख कार्कीले भने, ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबानमा परेको छ । डुबानको क्रम बढ्दै गएकोले प्रभावित क्षेत्रका सर्बसाधारणलाई सुरक्षित स्थानमा ल्याउने काम भई रहेको छ ।

प्रकाशित : २०७९ श्रावण १९, बिहीबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ