पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत प्रसारण लाइन भूमिगत गरिने


वीरगञ्ज । वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको छ ।

बुधबार मन्त्रीस्तरको निर्णयबाट ४ हजार ८ सय ३० मिटर लामो विद्युत लाइन जडान गर्न अनुमति दिएको हो । वन मन्त्रालयका सहायक वन अधिकृत ज्ञानेन्द्र कायस्थले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुधबार नै यस सम्बन्धमा जानकारी सहितको पत्र पठाएका छन् ।

पत्रमा नेपाल विद्युत प्राधिकरणका हाल भइरहेको १३२ केभी विद्युत प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्नेगरि ३३ केभीको अन्डरग्राउण्ड प्रसारण लाइन विस्तार गर्नुपर्ने उल्लेख छ ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बारा जिल्लाको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म ४ हजार ८ सय ३० मिटर लम्बाइको ३३ केभी क्षमताको अन्डरग्राउण्ड विद्युत प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले सहमति माग गरेको थियो ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले ३३ केभीको विद्युत लाइन विस्तारपछि पर्सा बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने दावी गरे ।

यस क्षेत्रका उद्योगीहरुले समय–समयमा विद्युत अवरुद्ध हुने, भोल्टेज कम आउने, अघोषित लोडसेडिंगका कारण सास्ती खेप्दै आएका छन् ।

प्रकाशित : २०७९ श्रावण १९, बिहीबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ