रौतहट : नदीमा कटान रोक्न बनाइएको अस्थायी स्पर बग्यो


रौतहट । बागमती नदीको कटान रोक्न बनाइएको स्पर बगेको छ । राजदेवी नगरपालिका ६ स्थित बागमती नदीमा सम्भावित कटानलाई रोक्ने उद्देश्यले बोरामा बालुवा हालेर बनाइएको अस्थायी स्पर बगेको हो ।

पहाडी भेगमा आएको बर्षाको कारण नदीमा आएको बाढीले राजदेवी नगरपालिका वडा नम्बर ६ र ९ को बीचमा रहेको १ नम्बर स्पर नजिक असार महिनामा बनाइएको स्पर र बाँसको पाइलिंङसमेत क्षतिग्रस्त भएको छ ।

राजदेवी नगरपालिकाले विपद् व्यवस्थापन कोषको रकम तथा जलस्रोत सिँचाई डिभिजन कार्यालय र बागमती लालबकैया नदी नियन्त्रण आयोजना परमानीपुरले उपलब्ध गराएको जाली, बोरा र बाँसको सहयोगमा बनाइएको स्पर बाढ़ीले बगाएको राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादवले जानकारी दिए ।

सो ठाउँमा नदीले कटानसमेत गर्न थालेको हुँदा नजिकै रहेको बाँध जोखिममा पर्न सक्ने खतरा उत्पन्न भएको उनले बताए । कटान हुँदै गरेको ठाउँदेखि बाँधको दूरी २० देखि २५ मिटर रहेको अनुमान गरिएको छ ।

समयमा नियन्त्रण गर्न सकिएन भने मूलधार परिवर्तन हुन सक्ने खतरा रहेको छ । उत्तर तर्फबाट दक्षिणतिर बग्ने नदीको पानीको दबाब सीधा बाँधतिर रहेको देखिएको छ ।

कटान गरिएको स्परलाई मर्मत गर्ने कार्य जारी रहेको नगर प्रमुख यादवले बताए । उनका अनुसार सो ठाउँमा नयाँ ६ वटा स्पर बनाइएको थियो ।

बागमती नदीले शुरू गरेको कटानले ब्रम्हपुरी, लक्ष्मीपुर बेलविच्छवा बढ़ी जोखिममा पर्न सक्ने सम्भावना रहेको छ । नदीमा पानीको सतह कम भएपछि कटान हुन थालेको स्थानीयहरुले जनाएका छन् ।

​बाँधमा खतरा रहेको जानकारी हुनासाथ प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीसहितका सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गर्न पुगेका शाहीले उच्च जोखिम रहेकोले नियन्त्रण गर्न अति आवश्यक भएको बताए ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ