लहानलाई सरसफाइयुक्त र हरित शहर बनाउँछौं : मेयर चौधरी


धर्मेन्द्र पासवान, लहान । लहान नगरपालिकालाई सरसफाइयुक्त र हरित शहर बनाउन मेयर महेश प्रसाद चौधरी अभियान थालेका छन् । लहान ४ का स्थानीयको आग्रहमा मेयर चौधरी एकाबिहानै हातमा झाडु लिएर आफैं सडकमा पुगे र सरसफाइ अभियान सुरु गरे ।

शिक्षित वस्ती भएकोले अलिकति मात्रै भएपनि सडकलाई सफा र सुन्दर राख्यौं भने सुन्दर लहानको परिकल्पना गर्न सकिने मेयर चौधरीले बताए । सडक बाटोमा केही पनि नराखुन उनले नगरबासीसँग आग्रह गरे । उनले सरसफाइ गरे लगत्तै वृक्षरोपण समेत गरेका छन् ।

लामो समयदेखि संचारकर्ममा लागेका अग्रिमा एकेडेमी कलेजका सञ्चालक विमल ठाकुरको नेतृत्वमा सानो सरसफाइ समिति गठन गरि ‘सरसफाइ गरौं, सभ्यताको परिचय दिउँ’ भन्ने मूलनारासहित अभियानको सुरुवातलाई टेवा पु-याएका छन् । उनले भने, ‘समाजको हितहुने कुनैपनि कार्यको सुरुवात आफैंबाट गर्नुपर्छ ।

स्थानीयबासीले महिनाको एक शनिबार बिराएर १५/१५ दिनमा टोलको सरसफाइ गर्नेछ ।’ सरसफाइका लागि सरसामानहरू खरिद गर्न टोलबासीले २५ रुपैयाँका दरले बचत समेत गर्ने उनले योजना सुनाए । यदि त्यतिले सम्भव नभए सक्नेले स्वेच्छाले पनि थप सहयोग गर्न सकिने उनको भनाई छ ।

सरसफाइ अभियानमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव, ४ नम्वर वडाका अध्यक्ष रामनाथ पण्डित लगायत स्थानीयबासी, बुद्धिजीवी र समाजसेवीको बाक्लो उपस्थिति थियो ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ