मधेसमा कांग्रेसको नजर : ‘पहिलो शक्ति बन्न लोसपासँग सहकार्य’


काठमाडौं । पाँचदलीय गठबन्धनभित्र चार दलले उपगठबन्धन बनाउने गृहकार्य गरेपछि कांग्रेसले पनि मधेस प्रदेशका लागि अलग्गै मोर्चाको तयारी थालेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपासँग संघीय र प्रदेश निर्वाचनमा तालमेलको प्रस्ताव गरेका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले लोसपा नेतासँग तालमेलको औपचारिक प्रस्ताव गरेका हुन् ।

प्रस्ताव सकारात्मक रहेको तथा दुई दलबीच तालमेलको सम्भावना पनि रहेको लोसपा नेताले बताएका छन् । नेता लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री देउवाले आफू लोसपाका माग सम्बोधनमा सकारात्मक रहेको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यसबारे थप छलफल गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । गठबन्धनमै सहभागी हुने वा कांग्रेस–लोसपा मात्रै तालमेल गर्ने दुवै विकल्प खुला रहेको नेता कर्णले बताए ।

‘हाम्रा माग पूरा भएको अवस्थामा र छलफल गर्दै जाँदा गठबन्धनमा सामेल भएर या कांग्रेस–लोसपा मात्रै मिलेर निर्वाचनमा जाने सम्भावना कायमै छ,’ उनले भने ।

लोसपाले मधेस आन्दोलनका मुद्दा फिर्ता र बन्दी रिहाइलगायत माग राखेको छ । नागरिकता विधेयक पारितसँगै एउटा महत्वपूर्ण माग भने सम्बोधन भएको छ ।

माओवादी, एकीकृत समाजवादी र जसपासँगै मधेस प्रदेशमा तालमेल गर्न कठिन हुने बुझाइमा रहेको कांग्रेसले वैकल्पिक मोर्चाका रूपमा लोसपासँग सहकार्यको हात बढाएको हो । पाँचदलीय गठबन्धनका चार दलले उपगठबन्धन बनाए मधेसमा कांग्रेस र लोसपा गठबन्धनको सम्भावना रहनेछ ।

मधेसका आठ जिल्लामा संघीय संसद्का ३२ प्रत्यक्ष सिट छन् । मतदाता धेरै रहेकाले समानुपातिकतर्फ त्यसको महत्व हुन्छ । संघीय संसद्मा आफ्नो शक्ति बढाउन जुनसुकै पार्टीलाई मधेस रणनीतिक भूभाग हो ।

स्थानीय निर्वाचनमा मधेस प्रदेशमा कांग्रेस पहिलो शक्ति बनेको थियो । मधेसका एक सय ३६ पालिकामध्ये कांग्रेस ४६, एमाले ३०, जसपा २५, लोसपा १४, माओवादी नौ, एकीकृत समाजवादी ६, जनमत पार्टी दुई, तराई मधेस लोकतान्त्रिक पार्टी एक, विवेकशील साझा पार्टी एक र स्वतन्त्रले दुई पालिकामा जित निकालेका थिए ।

कांग्रेस स्थानीय तहमा जस्तै मधेसमा पहिलो शक्ति बन्ने दाउमा छ । स्थानीय तह निर्वाचनमा कमजोर परिणामपछि लोसपा आगामी निर्वाचनमा ठूला पार्टीसँग गठबन्धनको रणनीतिमा छ ।

लोसपा नेताहरूले गठबन्धनका लागि कांग्रेस र एमाले दुवैबाट प्रस्ताव आएको दाबी गरेका छन् । नागरिकता विधेयक पारित भएपछि लोसपा कांग्रेससँग सकारात्मक छ । – नयाँ पत्रिकाबाट

प्रकाशित : २०७९ श्रावण २३, सोमबार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ