जनकपुरः सिडिओ अफिसमा एक पालिकाको काम साताको दुई दिनमात्र


जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ ।

कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका सेवाग्राहीलाई साताको दुई दिनमात्र सेवा दिने सूचनामा उल्लेख गरिएको छ ।

प्रत्येक सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना गरी सेवा लिन अनुरोध गरिएको छ । कार्यालयमा प्रवेश गर्दा समाजिक दूरी र मास्क अनिवार्य गरिएको छ । शहीदनगर नगरपालिका,गणेशमान चारनाथ, मिथिला विहारी, लक्ष्मीनियाँ गाउँपालिका र धनौजी गाउँपालिकालाई आइतबार र सोमबार सेवा दिने सूचनामा जनाइएको छ ।

यस्तै, मिथिला नगरपालिका, सबैला, हंसपुर, धनुषाधाम कमला र जनकनन्दनी गाउँपालिकाका सेवाग्राहीले मंगलबार र बुधबार सेवा पाउने छन् ।

यस्तै मुखियापट्टी मुसरनिया गाउँपालिका, औरही, क्षीरेश्वरनाथ नगरपालिका, विदेश नगरपालिका, बटेश्वर गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका सेवाग्राहीले बिहीबार र शुक्रबार सेवा पाउने सूचनामार्फत जनाइएको छ । अर्को व्यवस्था नभएसम्म यसरी नै सेवा प्रवाह हुने जनाइएको छ ।

प्रकाशित : २०७९ श्रावण २३, सोमबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ