नवराजपुरमा गर्भवती महिलालाई पौष्टिक आहार र बालबालिकालाई झोला वितरण


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिकाले गर्भवती महिलाहरुलाई पौष्टिक आहार र बालबालिकालाई झोला वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा)को अध्यक्षतामा शुक्रवार एक समारोहबीच गर्भवती महिलाहरुलाई पौष्टिक आहार र बालबालिकालाई झोला वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिकी उपाध्यक्ष पुनम कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साह, स्वास्थ्य शाखा प्रमुख संजिव यादव र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई पोष्टिक आहार हलुवा र दलीया वितरण गरियो । यस्तै नवराजपुर गाउँपालिका ३ स्थित रमेश महतो स्मृति जनता मावि र वडा १ स्थित अबधि फेकनी आधारभुत विद्यालय करमनियामा अध्ययनरत गरिव, दलित समुदायका बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्नका लागि किताव बोक्ने झोला वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष यादवले सभ्य, सुन्दर समाज निर्माणका लागि शिक्षा स्वास्थ्य प्रणालीमा विषेश सुधार गर्नुपर्ने आवश्यकता औल्याए । उनले राम्रो पोषणयुक्त खाना खाएकी गर्भवती महिलाबाट जन्मिने बच्चा कुपोषणको उच्च जोखिमबाट बच्न र न्युनीकरण गर्न मद्दत पुग्ने बताए । उनले भने- खास गरेर बालबालिकाहरु विद्यालयमा नियमित पढ्न आउने वातावरणको सृजना गर्न पालिका भरी झोला वितरण लगायतका कार्यक्रम सञ्चालन गरेका छौं ।

शिक्षामा सम्पुर्ण बालबालिकालाई समावेशी र समानतामा आधारित गुणस्तरीय शिक्षामा पहुँचका लागि शुरुवाती अवस्थाको लगानीले उनीहरूका भविष्य र सम्रग समाज निर्माणमा दिर्घकालिन प्रतिफल दिने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।

प्रकाशित : २०७९ भाद्र ११, शनिबार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ