प्राथमिक स्वास्थ्य केन्द्र अब औरही अस्पतालमा परिणत, इमरजेन्सी सेवा पनि सुरु


सिरहा । औरही गाउँपालिका ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अब औरही अस्पतालको रुपमा परिणत भएको छ । उक्त अस्पतालमा शुक्रवारबाट इमरजेन्सी सेवा पनि सञ्चालनमा आएको हो ।

शुक्रवार एक समारोहबीच अस्पताल र इमरजेन्सी सेवाको मधेसका भुमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री विजय यादवले समुद्घाटन गरे । गाउँपालिका अध्यक्षमा शिवजयी यादव निर्वाचित भएलगत्तै अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए । अध्यक्ष यादवले आफूले जनाएको प्रतिवद्धता अनुसार अस्पतालमा इमरजेन्सी सेवा सुरु गरेको बताए ।

समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले अस्पतालमा कहिल्यै औषधीको अभाव हुन नदिने बताए । उनले आफू निर्वाचित भएदेखि दैनिक ३ पटकसम्म अस्पताल आउने गरेको सुनाए । उनले भने, ‘पहिले अस्पतालको ट्वाइलेट यति गन्हाइरहन्थ्यो कि प्रयोग गर्न जाने मान्छे पनि विरामी पर्थे । तर आफूले सरसफाई अभियान नै चलायौं । अहिले सफा बनाएका छौं ।’

‘सरकारी अस्पतालमा औषधी नै नदिने गरेको सर्वसधारणमा गलत सन्देश गएको छ’, उनले भने, ‘त्यसैले विरामी उपचार गराउन पनि आउने गरेका छैन । तर भन्न चाहन्छु कि अब अस्पताल आउनुस् उपचार गराउन । यहाँ उपचार पनि पाइन्छ र औषधी पनि ।’

करिब २० लाखको औषधी खरिद गरेको र अझै २० लाख रुपैयाँ औषधीका लागि छुट्याएको भन्दै अब औषधीको अभाव नहुने उनले बताए । सरकारी अस्पतालमा सेवा नै नपाउने गरेको भ्रमलाई चिर्न अब गाउँ गाउँमा स्वंयम्सेविका परिचालन गरिने योजना उनले सुनाए ।

गाउँपालिका उपाध्यक्ष रेणु यादवले प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालमा परिणत भएको र इमरजेन्सी सेवा पनि सुरु भएकाले जनता गाउँमै सहज उपचार पाउनेमा विश्वास व्यक्त गरिन् । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले अब यहाँ ७० किसिमको औषधी निःशुल्क पाइने र हप्ताको सातै दिन २४ सैं घण्टा सेवा उपलब्ध हुने जानकारी गराए ।

उनले स्वास्थ्य कार्यालयबाट गराउन सक्ने आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए । समुद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका कृषिमन्त्री विजय यादवले पनि प्रदेश सरकार अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : २०७९ भाद्र ११, शनिबार १२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ