आम निर्वाचनः मेयरदेखि मन्त्रीसम्मले चुनावमा प्रचार गर्न नपाउने


काठमाडौं । मन्त्री र मेयरले चुनावमा प्रचार गर्न नपाउने भएका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मन्त्री र मेयरले प्रचारप्रसार गर्न नपाउने भएका हुन् ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता २०७९ मा संघ र प्रदेशका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले पक्ष विपक्षमा प्रचार गर्न नपाउने उल्लेख छ ।

‘कुनै राजनीतिक दल वा उम्मेदवारले पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने,’ आचार संहितामा भनिएको छ । तर, आफैँ उम्मेदवार भएको क्षेत्रमा भने प्रचारप्रसार गर्न पाइने छ ।

निर्वाचन आचारसंहिताले बजेट तथा कार्यक्रम, नयाँ नीति लगायतका कार्यक्रम पनि घोषणा गर्न सरकारलाई बन्देज लगाएको छ । योजनाको शिलान्यास, उद्घाटन र निरीक्षण गर्न पनि आचारसंहिताले रोक लगाएको छ ।

यस्तै, चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलले जुलुस तथा आमसभामा दल वा उम्मेदवारको झण्डा अंकित लोगो पनि लगाउन नपाउने भएका छन् ।

राजनीतिक दलले प्रचारप्रसारको लागि दुई जनाको नाम आयोगमा बुझाउनु पर्नेछ । आयोगले अनुमति दिएको प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने छन् । तर, मन्त्री र स्थानीय तहका पदाधिकारीलाई भने मुख्य प्रचारक बनाउन नमिल्ने आयोगले जनाएको छ ।

राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा दलले समानुपातिक निर्वाचनका लागि बन्दसूचिका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रहेर गर्नुपर्ने छ ।

प्रकाशित : २०७९ भाद्र १४, मंगलवार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ