डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोल र खाना पकाउने ग्याँसको यथावत


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ । निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।

हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ । हवाइ इन्धन (आन्तरिक)को प्रतिलिटर १९० रूपैयाँ छ । निगमले बिहीबार भारतीय आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १।३९ रूपैयाँ, डिजेलमा ६.१२ रूपैयाँ र हवाइ इन्धनमा ८.०१ रूपैयाँ बढेर आएको छ। मट्टीतेल र ग्यासको भने भाउ केही घटेर आएको छ । यसका बाबजुद पन्ध्र दिनमा ४८ करोड २४ लाख रूपैयाँ घाटा हुने स्थिति देखिएकाले मट्टीतेल र डिजेलको भाउ बढाइएको निगमले बताएको छ ।

जारी विज्ञप्तिअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३७८.०७ रूपैयाँ र डिजेलमा ११.१८ रूपैयाँ घाटा छ । पेट्रोलमा भने २।८२ रूपैयाँ नाफा छ । मूल्य समायोजनपछि पनि पन्ध्र दिनमा ३० करोड ५२ लाख रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले बताएको छ ।

प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार ०७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ