धनुषा २ मा लोसपाबाट पूर्वमन्त्री अरगरियाको एकल नाम सिफारिस


जनकपुरधाम । धनुषा क्षेत्र नम्वर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।

लोसपा धनुषा क्षेत्र नम्वर २ को क्षेत्रिय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय साँसद हुन् ।

तत्कालिन संघीय समाजवादी फोरमको तर्फबाट ३२ हजार ४४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेसँग गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका रामचन्द्र झा मात्र १८ हजार ७१५ मत पाएका थिए । काँग्रेसका उम्मेदवार रामकृष्ण यादव १५ हजार ४४२ मत ल्याएका थिए ।

अहिले झा नेकपा एकिकृत समाजवादी छन् । र उनी पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यस्तै काँग्रेसबाट यो पटक पनि यादव नै उम्मेदवार सिफारिस भएका हुन् । जसपाले उपेन्द्र यादव लगायतका नेतालाई उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेबाट अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन ।

यो क्षेत्रमा सत्ता गठबन्धनमा आवद्ध दलमध्ये कुनै एकले मात्र उम्मेदवारी दिए पनि लोसपाका अरगरियालाई हराउन चुनौती देखिएको छ । पटक पटक साँसद बनेकाहरुको तुलनामा अरगरियाले यस क्षेत्रमा बढी विकास गरेकाले मजबुत पक्कड बनाएको स्थानीय बताउँछन् ।

प्रकाशित : २०७९ भाद्र १८, शनिबार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ