सिरहामा आर्केस्ट्रा कार्यक्रममा रोक, अटेरी गरे कारबाही गर्ने चेतावनी


टुडेखोज, सिरहा । चाडपर्वको नाममा गरिने आर्केस्ट्रा लगायतका तडक भडक कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यालय सिरहाले रोक लगाएको छ ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आर्केस्ट्रा लगायतका तडक भडक सृजना गर्ने कार्यक्रमहरु निषेध गरिएको सूचना जारी गरेका हुन् । उनले अटेरी गरी कार्यक्रमहरु आयोजना गरेमा कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

गणेश पूजा भर्खर सकिएको छ । अब इन्द्रपूजा, जितिया, विश्वकर्मा पूजा, दशैं लगायतका सांस्कृतिक चाडपर्वहरु नजिकिएसँगै प्रशासनले शान्ति सुरक्षामा खडड पुर्याउने आर्केस्ट्रा जस्ता कार्यक्रममा रोक लगाएको छ ।

चाडपर्वहरु वर्तमान समयमा भडकिलो हुँदै गएको भन्दै यसले गर्दा शान्ति सुरक्षामा चुनौती थपिएको प्रशासनको ठहर छ । सहायक प्रजिअ पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘युवाहरुमा सांस्कृतिक विचलन बढ्दो छ । उछृङ्खलता बढ्दै गएको छ । सांस्कृतिक मूल्य मान्यतामा ह्रास आएको छ यी विषयहरु गम्भीर चुनौतिको रुपमा रहेको छन् ।’

चाडपर्वहरु संयमित रुपले मनाउने वातावरणको सृजना गर्न, परम्परा र सांस्कृतिको जगेर्ना गर्न र शान्ति सुरक्षा वहाल गर्नका लागि जिल्लाभरि नै आर्केष्ट्रा लगायतका तडक भडक सृजना गर्ने कार्यक्रमहरु निषेध गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ