काम र तलब नपाएपछि साउदीमा ५४ नेपालीको बिचल्ली


दोहा । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ५४ नेपाली युवा बिचल्लीमा परेका छन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसिज प्रालिमार्फत करिब ५ महिना अघि साउदीको रियाद सुलाई अठार पुगेका उनीहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

राम्रो कमाई हुने भनेपछि ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ५० हजारसम्म बुझाएर इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेको नवलपुरका प्रेमकुमार महतोले जानकारी दिए ।

म्यानपावर कम्पनीले आफूहरूलाई साउदी आर्मी क्याम्प भित्र क्लिनरको काम र गार्डेनको कामका लागि भनेर साउदी पठाएको भएको थियो । तलब माग्न जाँदा कम्पनीले ५/६ सय साउदी रियाल दिने गरेको उनीहरूले बताएका छन् ।

‘सम्झौता पत्रमा म्यानपावरले ८ घण्टाको १ हजार २ सय देखि १ हजार ४ सय साउदी रियाल तलब भनेर पठाएको भए पनि यहाँ काम गर्दा ५/६ सय मात्र दिन्छ, त्यो पनि समयमा दिँदैन् ,’महतोले थपे ।

तलबै नपाए पछि विगत १० दिनदेखि काम पनि नगरी कोठामै बसिरहेको र तलब माग्दा कम्पनीले नेपाली कामदार चाहिँदैन भन्ने गरेको उनीहरूले गुनासो सुनाएका छन् । ‘घरबाट सय रुपैयाँको ३ रुपैयाँ ब्याजमा ऋण काढेर आएका थियौँ, अब कसरी साहूको ऋण तिर्ने हो रु’महतोले खबरहबसँग भने, ’ घर परिवारलाई के पठाउने ?’

आफूहरूले समस्याबारे पटक पटक पठाउने म्यानपावर कम्पनीलाई जानकारी गराएको भए पनि अहिलेसम्म कुनै सुनवाइ नगरेको पीडितहरूले बताएका छन् । रियादस्थित नेपाली दूतावासले पनि आश्वासन बाहेक केही नगरेको उनीहरूले आरोप लगाएका छन् ।

उनीहरूले आफूहरूलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन गर्दै निवेदन दिएको बताएका छन् ।

उनीहरुलाई पठाउने ब्लु ग्यालेक्सी ओभरसिज प्रालिका प्रतिनिधिलाई यसबारे खबरहबले बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । यसअघि पनि यस म्यानपावरबाट साउदी पुगेका १४५ नेपाली बिचल्लीमा परेका थिए । अहिले उनीहरू सबैको उद्धार भइसकेको छ ।

प्रकाशित : २०७९ आश्विन १, शनिबार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ