समानुपातिकमा परेका चर्चित अनुहार : बिमलेन्द्र र आरजुदेखि बादलकी श्रीमतीसम्म !


काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पार्टीहरुले सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।

दलहरुले प्रतिनिधि सभाका ११० सिट र प्रदेश सभाका २२० सिटका लागि उम्मेदवारको सूची बुझाएका छन् । आयोगले सूचीमा परेकाहरुको विवरण जाँच गरिरहेको छ । दलहरुले सोमबार बुझाएको सूची सच्याउनका लागि आयोगले असोज १६ गतेसम्मको समय दिएको छ ।

समानुपातिकमा परेका चर्चित अनुहार
प्रमुख राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा समानुपातिकतर्फ पुरानालाई सकेसम्म नदोहोर्‍याउने बताएका थिए । पटक–पटक समानुपातिकमा पर्दै आएका केही व्यक्ति यसपटक सूचीमा नपरे पनि यसअघि प्रत्यक्षमा प्रतिस्पर्धा गर्दै आएका चर्चित नेताहरु समानुपातिकमा परेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले बुझाएको बन्दसूचीमा पूर्व उपसभापति विमलेन्द्र निधिदेखि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा अटाएका छन् ।

२०७४ सालको निर्वाचनमा निधि धनुषा ३ बाट प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भएका थिए । त्यतिबेला उनलाई तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेका थिए।

यस्तै, आरजु राणा देउवा कैलाली ५ बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहेकोमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् । फेरी पनि उक्त क्षेत्रबाट निर्वाचनको तयारी गरेकी उनी जित निश्चित नभएपछि समानुपातिकतर्फ लागेकी हुन् ।

कांग्रेसबाट मुस्लिम कोटामा सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि समानुपातिक उम्मेदवार बनेका छन् । पार्टीको १४औं महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। मधेस प्रदेशबाट खसआर्यको कोटाबाट आनन्द ढुंगाना पनि समानुपातिकको सूचीमा परेका छन् ।

कांग्रेसको समानुपातिक सूचीमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि अटाएका छन् । २०७४ सालाको निर्वाचनमा उनी स्याङजा क्षेत्र नम्वर २ बाट पराजित भएका थिए। श्रेष्ठ एमालेकी पदमा आर्यालसँग ३ हजार ७०६ मतान्तरले पराजित भएका थिए ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि समानुपातिकमा अटाएका छन् । महत २०७४ सालको निर्वाचनमा काठमाडौं–५ मा नेकपा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए। काठमाडौं– ३ बाट पराजित भएकी कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत पनि समानुपातिकमा समेटिएकी छन् । कांग्रेस सहमहामन्त्री जीवन परियारपनि समानुपातिकको बन्दसुचिमा रहेका छन् ।

कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिकमा परेका छन् । २०७४ सालको निर्वाचनमा उनी नुवकोट २ बाट उम्मेदबार भएपनि पराजित भएका थिए ।

यसपटक समानुपातिकको सूचीमा परेका अर्का ‘हेविवेट’ नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा । पूर्वसभामुख समेत रहेका महरालाई पार्टीले समानुपातिक सूचीमा राखेको छ ।

२०७४ सालको निर्वाचनमा उनी दाङको प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट विजयी भएका थिए । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले पराजित गरेका थिए । यस पटक उक्त क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदबार हुने तयारी गरेका छन् ।

प्रत्यक्ष तर्फको उम्मेदवारका लागि महराको नाम ३ ठाउँबाट सिफारिस भएको थियो । दाङको क्षेत्र नम्वर १ र २ का साथै रोल्पाबाट पनि महरा सिफारिसमा परेका थिए ।

नेकपा एमालेबाट समानुपातिक सूचीमा पर्ने शीर्ष नेतामध्ये रघुजी पन्त छन् । ललितपुरबाट चुनाव लड्दै आएका स्थायी कमिटी सदस्य पन्तलाई एमालेले खसआर्यको क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएको छ । यस्तै, उपाध्यक्ष राम बहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई पनि एमालेले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।

अनेरास्वीयुकी अध्यक्ष सुनिता बरालदेखि कानुन विभागकी सदस्य अधिवक्ता शान्ति खनाल पनि एमालेबाट समानुपातिकको सूचीमा अटाएका छन् । त्यस्तै, उमा कोइराला, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी पनि एमालेको बन्दसूचीमा परेका छन् ।

सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका पदाधिकारीसहित ९ जना ‘शीर्ष नेता’ समानुपातिकको सूचीमा परेका छन् ।

समानुपातिक रोज्नेमा उपाध्यक्ष प्रमेश हमालसहित उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, श्रीप्रसाद साह छन् ।

यस्तै, स्थायी कमिटी सदस्य भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिट्‌ब्यूरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेका छन् ।

प्रकाशित : २०७९ आश्विन ४, मंगलवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ