लहानको गोधुली होटल पनि फोहोर !


जयनाथ यादव, सिरहा । लहान बजारमा नाम चलेको होटल गोधुलीले समेत उपभोक्ता स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको छ । चाडपर्व लक्षित अनुगमनको क्रममा होटल गोधुलीले चरम लापरबाही गरेको खुलेको हो ।

आईतवार ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेवती रमण शर्माको संयोजकत्वमा लहानमा होटलहरु अनुगमन गरियो । अनुगमनका क्रममा होटल गोधुलीको किचेन कोठा फोहोरले दुर्गन्धित रहेको पाइरहेको छ । होटलमा भाडावर्तन धुने ठाउँ र खाना पकाउने कोठा टाँसिएकाले जताततै फोहोर देखिएको अनुगमन टोलीमा सहभागी एक अधिकारीले बताए ।

उनका अनुसार होटलमा खाने बस्तु समेत छोपेर नराख्ने गरेकाले झिँगा लाग्ने गरेको देखियो । यस्तै फ्रिजमा अवस्थित तरिकाले राखेको खाने वस्तु समेत गन्हाइरहेको अवस्थामा भेटिएको थियो । अनुगमन टोलीले होटलको ब्यवस्थापन सुधार्न निर्देशन दिएको छ ।

यस्तै माखन भोग स्विट्स एण्ड नमकिनको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा त्यहाँ बेकरी बनाउने ठाउँमा टाईलस नलाएको र खानेकुरा नछोपी राखेको र खाना पकाउने ठाँउ अव्यवस्थित तथा फोहर डष्टविनको राम्रो व्यवस्था नभएको पाईएको छ ।

अनुगमन टोलीले लहानको मारुती, लेडी वर्ड, आकाश, स्वाद देशी रेस्टुरेन्ट, जय मातादी, कान्छा, चौधरी, सुर्या, खुशबु, विशाल लगायतका होटलमा पनि अनुगमन गर्दा लापरबाही गर्ने गरेको देखिएको छ । चौधरी होटेलमा फोहोर खाना, अखाद्य बस्तु, गुन्द्रुकको अचार लगायतका समान अनुगमन टोलीले जफ्त गरेको बुझिएको छ ।

यस्तै खुस्बु होटेलमा कुहिएको मुला, म्याद गुज्रेको ३० प्याकेट विस्कुट र सुर्या होटेलबाट खाने कुरामा प्रयोग गरिने ७ वटा हाइड्रो रङ्ग जफ्त गरी नष्ट गरिएको थियो ।

खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरिक्षक राजीन बुढाथोकीले अनुगमनको क्रममा अंधिकाश होटेलमा मुल्यसूचीको बोर्ड नभएको, किचेनमा काम गर्ने व्यक्तिको व्यक्तिगत सरसफाई नगरेको, एप्रोन र माक्स तथा पन्जा बिना काम गर्ने गरेको पाइएको बताए । उनले होटलहरुलाई एक पटकको लागी चेतावनी दिएको र आइन्दा गलत हर्कत गरिए कारबाही गर्ने चेतावनी दिएको बताएका छन् ।

लहानको अधिकांश होटेल र रेस्टुरेन्टले सरसफाइ, खाद्य स्वच्छता र गुणस्तरमा बेवास्ता गर्ने गरेको पाइएको छ । नियमित रुपमा अनुगमन नहुने गरेकाले होटलहरुमा लापरबाही बढेको छ । होटलको भण्डारण कक्ष, भान्साकोठा, भाँडा माझ्ने ठाउँ र सुत्ने कोठासमेतको अनुगमन गर्दा सुधार गर्नुपर्ने पक्ष धेरै छन्, यसमा गम्भीर ध्यानाकर्षण भएकोले बजार अनुगमनलाई निरन्तरता दिने ईलाका प्रशासन कार्यालयका प्रमुख रेवती रमण शर्माले बताए ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लाहनको प्रमुख दिपेन्द्र कुमार यादव, उपभोक्ता मञ्च नेपालका जिल्ला अध्यक्ष विमल ठाकुर, उधोग वाणिज्य संघका सदस्य रिता देवी यादव, लहान नगरपालिका ८ का वडाध्यक्ष श्याम कुमार साह, ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी वेश क्याम्प लहानका डिएसपी एकराज बुर्लाकोटी सहभागी थिए ।

प्रकाशित : २०७९ आश्विन १२, बुधबार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ