स्कुटर दुर्घटनामा एमाले नेतृ चौधरीको मृत्यु


रूपन्देही । नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो ।

लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । उपचारका लागि भीम अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ की वडासचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मा सर्वसम्मत रुपमा सचिवमा चयन भएकी थिइन् ।

तिलोत्तमा ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन् । बुधबार घरमा दसैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए ।

प्रकाशित : २०७९ आश्विन २०, बिहीबार ०९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ