सिरहाका सशस्त्र प्रहरी असइ भारतमा मृत भेटिए


लहान । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक ९असइ० बिहीबार दिउँसो भारतीय भूमिमा मृत भेटिएका छन् ।

सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नाहास्थित घोडदह खोलामा असइ सत्यनारायण यादव मृत भेटिएका हुन् । सो स्थान नेपाल–भारत सीमाभन्दा करिब तीन किलोमिटर दक्षिणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको छ। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको हो । टाउकोमा चोट रहेको बताइए पनि पोस्टमार्टमबाटै मात्रै अन्य कुरा खुल्ने देखिन्छ र हामी भोलिबाट थप अनुसन्धान थाल्छौँ,’ सिंहले भने।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए। ‘नेपाल प्रहरीको अनुसन्धानपछि अन्य कुराहरू आउँछ नै,’ उनले भने, ‘तत्कालै केही भन्न सकिने अवस्था छैन ।’

सिराहाको भगवानपुर २ घर भएका असइ यादव असोज १८ गते नै बिदा लिएका थिए ।

प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ