जसपाका प्रदेशमन्त्री कांग्रेसबाट उम्मेदवार


कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री रहेका सहसराम यादवले आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दिउँसो कांग्रेस प्रवेश गरेर उनले कपिलवस्तु १ (ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रमा पार्टीले एमालेसँग गरेको चुनावी गठबन्धनको विरोध गर्दै आफूले कांग्रेसबाट उम्मेदवारी दिएको यादवले बताए ।

‘सुरुदेखि कांग्रेससँग तालमेल गर्ने भन्दै योजना बनाएर काम गर्दै आएका थियौं, एक्कासि एमालेसँग तालमेल हुने भएपछि अलमलमा परेको थिएँ,’ उनले भने, ‘कांग्रेसमा प्रवेश गरेपछि जित निकाल्न सहज हुने आकलन गरें ।’

जसपा र एमालेबीच बनेको गठबन्धन कपिलवस्तुमा बिथोलिएको छ । एमालेले प्रदेशसभा सदस्यका लागि कपिलवस्तु १ (ख) र कपिलवस्तु ३ (ख) नछाडेकाले समझदारी तोडिएको जसपाका लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँले बताए । उक्त क्षेत्रमा आफ्नो पार्टीले छुट्टै उम्मेदवारी दिएको उनले जनाए ।

केन्द्रमा सहमति भए पनि जिल्लामा जानकारी नआउँदा त्यसअनुसार उम्मेदवारी दर्ता हुन नसकेको एमाले अध्यक्ष डम्मर शर्माले बताए । ‘जिल्लामा जसपा नेतृत्व पनि सम्पर्कमा आएन,’ उनले भने, ‘संवादहीनताको स्थिति भयो । त्यही भएर मित्रवत् प्रतिस्पर्धामा गएका हौं ।’

२०७४ को आमनिर्वाचनमा पश्चिम नवलपरासी २ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका नगेन्द्र अग्रहरि कांग्रेसका बैजनाथ जयसवालसँग पराजित भएका थिए । गत स्थानीय निर्वाचनअघि अग्रहरि कांग्रेस प्रवेश गरे । पार्टी सभापति शेरबहादुर देउवाले उनलाई कांग्रेस प्रवेश गराएका थिए । तर, रामग्राम नगर प्रमुखको टिकट आशा गरेका उनले टिकट पाएनन् ।

कांग्रेस नेतृत्वसँग असन्तुष्ट अग्रहरि आइतबार पुनः लोसपाबाटै पश्चिम नवलपरासी २ (ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । अहिले जिल्लामा लोसपा र राप्रपा नेपालबीच चुनावी तालमेल छ ।

‘मैले दल बदलेको भन्दा पनि राजनीतिक दलले मप्रति गरेको धोकाका कारण यसो भएको हो,’ अग्रहरिले भने, ‘जुनसुकै स्थान र दलमा बसे पनि जनताको सेवा गर्ने भावनाअनुरूप म उम्मेदवार बनेको हुँ ।’ जिल्लामा कांग्रेस र एमालेभित्र संघ र प्रदेशसभामा उम्मेदवारको टिकटको विषयमा असन्तुष्टि भए पनि बागी उम्मेदवारी भने परेको छैन ।

स्थानीय तहको निर्वाचनदेखि नै माओवादी केन्द्रका नेता आदेश अग्रवाल नेपालगन्ज उपमहानगरको प्रमुख पदको टिकट पाउने आशामा थिए । त्यो सपना पूरा नभएपछि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि केन्द्रीय नेताहरूलाई हारगुहार गरेका थिए र चुनावको तयारी गर्न आश्वासन पनि पाएको उनको भनाइ छ ।

अन्तिम क्षणमा टिकट नपाएपछि अग्रवालले एकाएक जसपाबाट बाँके २ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । माओवादीका अर्का नेता अमर खड्का पनि अन्तिममा जसपाबाट उम्मेदवार बनेका छन् । माओवादीबाट टिकट नपाएपछि उनी जसपाबाट बाँके–१ ९क० बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

कांग्रेस नेता रवीन्द्रमान श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीबाट बाँके ३ मा प्रतिनिधिसभा सदस्य र कांग्रेसकै चन्तराम थारूले बाँके ३ (क)मा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रकाशित : २०७९ आश्विन २४, सोमबार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ