पूर्व विनाविभागिय मन्त्री यादव र शिव यादव हाम्रो नेपाली पार्टीका उम्मेदवार


टुडेखोज, सिरहा । पूर्व विनाविभागिय मन्त्री राजलाल यादव हाम्रो नेपाली पार्टीबाट सिरहा प्रदेशसभा क्षेत्र नम्वर २ (क)बाट उम्मेदवार बनेको खुलेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । स्रोतका अनुसार उनले प्रदेशसभा १ (ख)बाट टिकटका दावेदार थिए । तर जसपाले १ (ख)मा राजकुमार गुप्ता ‘राजु’लाई टिकट दिएपछि रुष्ट बनेका उनी २ (क)बाट उम्मेदवार बनेका हुन् ।

यादव पुराना नेता हुन् । उनी पहिलो संविधानसभा सदस्यमा सिरहा क्षेत्र नम्वर १ मा तत्कालिन मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए । संविधानसभा सदस्य रहेकै बेला उनी विना विभागिय मन्त्री बन्ने अवसर पाए । दोस्रो संविधानसभा सदस्यमा तत्कालिन मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बाट सिरहा १ मै उठेका थिए । तर पराजित भए ।

०७४ को निर्वाचनमा उपेन्द्र यादव नेतृत्वकै तत्कालिन संघीय समाजवादी फोरमबाट उनी वडा सदस्यमा चुनाव जितेका थिए । उनको चाहना थियो– जिल्ला समन्वय समिति (जिसस)को सभापति बन्ने । तर जसपाले अपेक्षा बमोजिम सिट ल्याउन नसक्दा जिससको सभापति बन्ने उनको सपना पुरा भएन ।

मधेस आन्दोलनमा उनी सक्रिय भुमिका खेलेका थिए । अहिले प्रदेश २ (क)बाट चुनाव लडेका उनले आफू नै विजयी हुने दावी गरिरहेका छन् । यो क्षेत्रमा भने उनको पक्कड अब्बल छैन ।

नेता यादव उम्मेदवार बनेका हाम्रो नेपाली पार्टीबाटै सिरहा क्षेत्र नम्वर २ मा शिव शंकर यादव र प्रदेशसभा क्षेत्र २ (ख)बाट योगेश कुमार सिंहको उम्मेदवारी परेको छ । शिव र योगेश पनि स्वतन्त्र उम्मेदवारी दिने भनेर प्रचार प्रसार गरेका थिए । तर उनीहरु पनि दलको साहारा लिएका छन् । उनीहरु उम्मेदवार बनेको हाम्रो नेपाली पार्टीको भने सिरहामा संगठन छैन ।

प्रकाशित : २०७९ आश्विन २५, मंगलवार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ